अमेरिका- गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको आईसीसीको सम्मेलनमा अमेरिकाबाट डा. केशव पौडेलले महासचिवमा उम्मेदवारी दिने भएका छन्। उनले अमेरिकामा एनआरएनको दुई कार्यकाल नेतृत्व गरिसकेका छन्।

तनहुँ जिल्लाको व्यास नगरपालिका ९ सिस्नेरीमा जन्मिएका डाक्टर पौडेल मेडिकल डाक्टर हुन्। थप अध्ययनका लागि अमेरिका आएका डा पौडेल त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत भएका थिए। उनी सन् २००५ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिकामा आएका थिए। न्युयोर्कको अपस्टेटबाट चार वर्ष अध्ययन पूरा गरी एमडी र टेनिसीबाट एमबीएको उच्च अध्ययन पूरा गरी सन् २०१४ देखि अमेरिकाको न्युमेक्सिकोस्थित लबलेस मेडिकल सेन्टरको मेडिकल डाइरेक्टरको रूपमा कार्यरत छन्।

हाल अमेरिकामा अमेरिकन चिकित्सकहरूको संस्था सोसाइटी अफ हस्पिटल मेडिसिन न्युमेक्सिकोको अध्यक्ष पदमा रहेका डा. केशव पौडेलले नागरिकसंग भने मेरो अनुभवलाई आईसिसिमा लगानी गर्ने सामाजिक योगदानको चाहानालाई साकार पार्न महासचिवमा उम्मेदवारी दिन लागेको बताए।

एनआरएन विदेशमा बस्ने हामी नेपालीहरूको साझा सस्था भएकोले संस्थामार्फत विदेश र नेपालमा बस्ने नेपालीहरूलाई आफूले सिकेको र जानेको कुराहरूको माध्यमबाट सेवा र सहयोग गर्नका लागि यो अभियानमा लागेको बताए। आफ्नो कार्यकालमा एनआरएन अमेरिकामा विदेशी नागरिकताको माग, विभिन्न छात्रवृत्ति दिने काम, मातृभूमिमा विपत्तिमा परेको बेला आर्थिक तथा भौतिक सहयोग, नेसनल इन्भाइरोमेन्ट एकेडेमीको गुरुयोजना निर्माणमा सहयोग, अमेरिकाभरि विभिन्न राज्यहरूमा सामुदायिक भवन बनाउन सहयोग गरेकोले महासचिवका लागि योग्य भएको दावी गरे।