काठमाडौं, ३ वैशाख । काठमाडौं पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पोजिटीभ देखिउपछि उपत्यका त्रासमा छ ।

र्यापिडली सर्ने भएका कारण सनसिटी अपार्टमेन्टलाई नियन्त्रणमा राखेर यहाँभित्र रहेका सबैमा कोरोना संक्रमण परिक्षण सुरु गरे पनि पुष्टि भएका ५८ बर्षिय पुरुष र ८१ बर्षिया महिलासँगै काठमाडौं उत्रिएका कतार एयरवेजमा रहेका १५३ यात्रुका कारण पनि त्रास बढेको छ ।

बेलायतबाट दोहा ट्रान्जिट भएर काठमाडौं उत्रिएका उनीहरु क्यूआर ६४४ विमानमार्फत ४ चैतमा काठमाडौं उत्रिएका थिए । त्यसबेलासम्म सरकारले विमान आगमन रोकेको थिएन भने आन्तरिक यात्रा पनि जारी राखेको थियो । लक डाउनको घोषणा भइसकेको थिएन । सो समयमा नेपाल आएका सबैको खोजी कार्य तिव्र बनाउन प्रहरी सक्रिय भइसकेको छ ।

उच्च स्रोतका अनुसार कोरोना पोजिटिभ देखिएका दुई जनासँग सम्पर्क भएका सबैको खोजी अनिवार्य गरिएको छ। को कहाँ छन् भन्ने विषयमा जानकारी लिने र सम्पर्कमा आई टेष्ट गराउन अपिल भइसकेको छ ।

विमानस्थलले यात्रुका व्यक्तिगत विवरण प्रहरीलाई मंगलबार नै उपलब्ध गराइसकेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार त्यसबेला आएका प्रत्येको खोजीका लागि विवरणसहित सम्बन्धित युनिटमा ठेगानासहित पत्राचार र सर्कुलर भइसकेको छ ।

अवस्था नराम्रो आउन सक्ने भएकाले खोजी कार्य तिव्र पारिएको छ । यसले देशैभरी समस्या आउन सक्ने हो की भन्ने चिन्ता पनि बढाएको छ, स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, संक्रमण त्यहि हिसाबमा एक साथ देखिए अवस्था अर्को हुन सक्ने खतरा आउन नदिन पनि सरकार सक्रिय छ ।