काठमाडौं, ३ वैशाख । कोरोना संक्रमणको त्रासका कारण भारतको मुम्बईमा एक जना नेपालीले आत्महत्या गरेका छन् । कोरोनाका कारण दुखदायी मृत्यु हुन्छ भन्ने त्रासका कारण उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ ।

कोरोना संक्रमण भएको आशंकामा निगरानीमा राखिएका कोरियाबाट नेपाल आएका एक जना नागरिक महिना अघि टेकु अस्पतालबाट फरार भएका थिए । उनले कोरोनाका कारण मरिन्छ भनेर र अस्पतालमा डाक्टर नर्सले गरेको उपचार पद्दतीले आफूलाई त्रासमा राखेको बयान प्रहरीले पक्राउ गरेपछि दिएका थिए ।

सुनसरीको इटहरी क्वारेनटाइनमा राखिएका एक व्यक्ति मंगलबार भागेका थिए । उनलाई नियन्त्रणमा लिएर फेरि क्वारेन्टाइनमा राखिएको छ ।

यी केही उदाहरण हुन् । विश्वमा महामारीका रुपमा देखिएको कोरोना भाइरस संक्रमण (कोभिड १९)को त्रासका कारण आत्महत्या बढ्न सक्ने अनुमान गरिएको छ । अहिले नेपालमा पनि संक्रमण पुष्टिको संख्या बढिरहेका कारण यो सम्भावना कायम रहेको बताइन्छ । विज्ञहरुका अनुसार कोरोना संक्रमणको त्रास डिप्रेशनमा रहेका विरामीमा ज्यादा हुने भएकाले आत्महत्या बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।

कतिपय श्रव्य दृश्यका कारण पनि मानिस आत्महत्याको चरणसम्म पुग्न सक्ने र त्यसलाई नियन्त्रणमा लिनका लागि प्रतिरोधात्मक क्षमता बढाउनुपर्ने बताइएको छ ।

‘त्रासले मानिसलाई मृत्यु सम्मको बाँटो अँगाल्नका लागि बाध्य पार्दछ । त्यसैले त्यस्तो अवस्था आउन नदिनका लागि परिवारका सदस्यमा घुलमिल तथा सुरक्षित भएर बस्ने वातावरणको आवश्यक हुन्छ’, मनोविज्ञहरुको सुझाव छ ।

त्यसो त विश्वमा देखिएका मृतक र रोगको संक्रमणका विषयलाई लिएर सुरक्षा अपनाउन नछाड्नका लागि विश्व स्वास्थ्य संगठनले अपिल गर्दै आएको छ । कोरोनासँग लड्नका लागि नाच्ने गाउने रमाउने र मन भुलाउने काममा अभ्यस्त हुनुपर्ने अनिवार्यतालाई विश्व स्वास्थ्य संगठनले प्राथमिकतामा राखेको हो ।

यसै पनि नेपाल आत्महत्या हुने दरमा निक्कै अघि रहेका कारण सम्भावना बढी भएकाले त्यसो हुन नदिन पारिवारिक र सामाजिक परिवेश नै बलियो बनाउनुपर्ने सुझाव दिइएको छ ।