काठमाडौं, ३ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको संक्रमण रोकथामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेर अघि बढे मुलुकका लागि हितकर हुने बताएका छन् ।

‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा अध्यक्ष दाहालले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीकै नेतृत्वमा सबै दलहरू सम्मिलित राजनीतिक उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने बताए । उनले सो कुरामा आफू अहिले पनि यथावत अडानमा रहेको बताए ।

उनले सरकारको नेतृत्वमा आफू भएको भए राजनीतिक संयन्त्र गठन गरेरै अघि बढ्ने बताए ।

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीलाई राजनीतिक संयन्त्र गठनको कुरा ठीक नलागे जबरजस्ती गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको बताए ।

एउटा अन्तर्वार्तामा दाहालले कोरोना भाइरसबिरुद्धको युद्ध जित्नका लागि सरकारले सबै राष्ट्रिय राजनीतिक दल र विज्ञहरूसमेत सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न प्रस्ताव गरेका थिए ।

सरकारको प्रयास आफ्नो ठाउँमा ठीकै भएपनि कोरोना भाइरससँग एक्लै लड्न कठिन हुने उनले बताएका छन् ।

अध्यक्ष दाहालको सो प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरिदिएका छन् ।

ओली र दाहालबीच राजनीतिक संयन्त्र गठनका विषयमा मतभेद चुलिएपछि नेकपाभित्र गम्भीर हलचल मच्चिएको छ ।

दाहालले प्रधानमन्त्री ओलीसँग बाहिर प्रचार भए जस्तो मतभेद नरहेको दाबी गरेका छन् ।

उनले ओलीसँग केही विषयमा मतभेद भए पनि अहिले त्यसबारे समीक्षा गर्ने बेला नरहेको बताएका छन् ।

स्वास्थ्य सामग्री खरिदका विषयमा सरकारकै मान्छेहरूबाट भ्रष्टाचार भएको विषयमा पनि आफूले कुरा उठाउँदा प्रधानमन्त्री ओलीबाट छानबिन गर्ने प्रतिबद्धता आएको बताएका छन् ।