जाेखिम माेलेर फिल्डमा सञ्चारकर्मी

जमुना वर्षा शर्मा

पाेखरा

कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनसँगै स्थलगतगतरूपमा समाचार सङ्कलनमा खटिएका पत्रकारहरूले विभिन्न समस्या झेल्नुपरेको अनुभव सुनाएका छन् । विश्वव्यापी महामारीको रूपमा देखिएको कोराना भाइरसका कारण जटिल बन्दै गएको वर्तमान अवस्थामा आफ्नो ज्यानको जोखिमसँगै नागरिकलाई सुसूचित गराउने पत्रकारहरु घरधनीदेखि घरपरिवारका सदस्यले गर्ने व्यवहारले पत्रकारिता पेशाबाट टाढा बस्ने कि काम गर्ने भन्ने दोधार मानसिकताबाट गुज्रिएका छन् ।

प्राइम टेलिभिजनमा कार्यरत अनिता घिमिरे दिनप्रतिदिन आफूलाई असुरक्षित महसुस गर्नुहुन्छ । सुरक्षाको आधारभूत विधि अपनाएर स्थलगत समाचार सङ्कलनमा निस्कँदा धरधनीको एउटै आवाज उहाँको कानमा गुञ्जन्छ, “पत्रकार नानी, बाहिर हिँड्दा कोरोना ल्याउनुहोला है, ध्यान दिनुहोस् ।” घिमिरे घरधनीले हाँसो ठट्टामै हरेक दिन भनिरहने यस्ता शब्दहरुले आफूसँग घरधनीले पनि निकै असुरक्षित महसुस गरेको आभास हुन थालेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “टेलिभिजन पत्रकारितामा घरभित्र बसेर रिपोर्टिङ गर्न सम्भव छैन, ‘फिल्ड’मा जाँदा आफैँ जोखिममा रहेको महसुस हुन्छ ।” कामबाट घर फर्कँदा घरधनीको उही प्रश्नले मानसिकरूपमा आफूलाई निकै कमजोर बनाउँदै लगेको उहाँको भनाइ छ ।


विश्वव्यापी महामारीको रूपमा देखिएको कोराना भाइरसका कारण जटिल बन्दै गएको वर्तमान अवस्थामा आफ्नो ज्यानको जोखिमसँगै नागरिकलाई सुसूचित गराउने पत्रकारहरु घरधनीदेखि घरपरिवारका सदस्यले गर्ने व्यवहारले पत्रकारिता पेशाबाट टाढा बस्ने कि काम गर्ने भन्ने दोधार मानसिकताबाट गुज्रिएका छन् ।

पोखरा टेलिभिजनमा कार्यरत तानी क्षेत्री पनि हरेक दिन कोरोनाको समाचार सङ्कलन गर्दा आफूलाई असुरक्षित महसुस हुन थालेको बताउनुहुन्छ । “रिपोर्टको लागि फिल्डमा जानै पर्यो, यो बेला सम्बन्धित मन्त्रालय, अस्पताल, डाक्टर, स्वास्थ्यकर्मी, सर्वसाधारण सबैको ‘भ्वाइस’ लिनुपर्ने हुन्छ, सामाजिक दूरी कायम गर्दा पनि कहीँ कतै केही पो भइहाल्छ कि ! भन्ने डर त्रास हुनेरहेछ”, क्षेत्री भन्नुहुन्छ “घरमा जाँदा परिवारसँग छोइन डर लाग्ने र परिवारका सदस्य पनि आफूसँग टाढाटाढा हुने अवस्थाले आफू नै सङ्क्रमित भएको हो कि जस्तो लाग्न थालेको छ ।” उहाँले लामो समयसम्म कारोनाको विषयमा मात्र समाचार बनाइरहँदा एक प्रकारको मानसिक डर त्रासबाट गुज्रेको अनुभव सुनाउनुभयो ।

अन्नपूर्ण पोष्ट, प्रदेश ब्यूरो प्रमुख केशवशरण लामिछाने अहिलेको अवस्था पत्रकारहरुका लागि सबैभन्दा जोखिम भएको बताउनुहुन्छ । “पत्रकार सधैँ द्वन्द्वको बीचमा रहेका हुन्छन् । बन्द, हड्ताल, आन्दोलन कुनै पनि राजनीतिक परिवर्तन होस् अग्रमोर्चामा पत्रकार जगत् हुने गरेको छ, सत्य तथ्य समाचारमा पत्रकार फिल्डमा नपुगी हुँदैन, अहिलेको अवस्थाले पत्रकारलाई मानसिकरूपमै कमजोर बनाएको छ”, लामिछाने भन्नुहुन्छ, “मान्छे स्वभावैले आफ्नो ज्यानको माया गर्ने प्राणी हो, तर अहिले ज्यानको माया एकातिर राखेर व्यावसायिकतासँग सामाजिक उत्तरदायित्वमा पत्रकार छन् । पत्रकारहरुलाई आफ्नै पेशा ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने ….को अनुहार’ भने जस्तै भएको छ ।”

पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले विश्व नै महामारीबाट आक्रान्त भएको सन्दर्भमा स्थलगत रिपोर्टिङमा हिँड्ने पत्रकार जोखिममा रहेको बताउनुहुन्छ । “यतिबेला पत्रकारले व्यावसायिकताभन्दा माथि उठेर सामाजिक दायित्व पूरा गरिरहेका छन् । आम नागरिकलाई सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको पेशागत धर्म हो, यो जोखिमपूर्ण अवस्थामा राज्यले आफ्नो स्वार्थसँग मात्र पत्रकारलाई खोज्ने र प्रयोग गर्ने मात्र गर्नुहुँदैन, राज्यले पत्रकारको स्वास्थ्य सुरक्षाका विषयमा एक शब्द पनि नबोल्नु दुःखलाग्दो पक्ष हो”, पौडेल भन्नुहुन्छ “सानातिना गल्तीमा बहालवाला मन्त्रीहरु नै पत्रकारमाथि खनिन्छन्, तर यो जोखिममा उनीहरुकै सूचना आम नागरिकसम्म पुर्याएको कुरा भने बिर्सन्छन् ।”

पत्रकारलाई सधैँ ‘बलिको बोको’ बनाउने परिपाटी राजनीतिक द्वन्द्वदेखि अहिलेसम्म उस्तै भएको उहाँ बताउनुहुन्छ । यतिबेला सञ्चारगृहले आवश्यक सुरक्षा सामग्री उपलब्ध गराएर मात्र फिल्डमा पठाउनु पर्ने र पत्रकार स्वयंले पनि सुरक्षा पहिलो भन्ने कुरा बिर्सन नहुने उहाँको भनाइ छ । पत्रकार महासङ्घले स्थलगत समाचार सङ्कलनमा हिँड्ने पत्रकारहरुको सुरक्षाका लागि गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग कुरा गरेको र सकारात्मक प्रतिक्रिया पाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्यमन्त्रीसँग यस विषयमा छलफल भएको छ, उहाँ सकारात्मक हुनुहुन्छ, अब केही दिनमा स्थलगतरुपमा खटिने पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री प्राप्त हुनेछ ।”