जनकपुर, १४ जेठ । भारतको गुजरातमा रोजगारीका लागि चार महिना अघि गएका धनुषा शहीद नगरपालिका–९ का वीरेन्द्र गुरमैता यादवको मंगलबार बिहान जटही नाकामा मृत्यु भएको छ ।

उनीसहित झण्डै २ सय जना भारतबाट आएर जटही नाकामा रोकिएका थिए । यही भिडमा अस्वस्थ भएपछि ३० वर्षीय गुरमैताले आफ्ना परिवारलाई चाँडो आइदिन फोन गरेका थिए ।

लकडाउनका कारण भोकभोकै बस्नुपर्ने अवस्था आएपछि उनी आफ्नो घर आउन खोजेका परिवारका सदस्यहरुले बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि विरेन्द्रको मृत्यु भएको पुष्टि गरेका छन् ।

यसैबीच सीमामा अलपत्र रहेका नेपालीलाई ल्याउन यात्रुबाहक बस पठाउने तयारीमा धनुषा प्रशासन जुटेको छ ।