काठमाडौं । केही दिनयता नेपाली अभिनेत्रीका अश्लिल फेक भिडियो बनाएर चरित्र हत्या गर्दै सामाजिक सञ्जालमा सेयर गर्न थालेको सूचना पाएपछि कानुनी उपचारको खोजी गरिएको छ ।

नेपाल चलचित्र कलाकार संघले यस्ता भिडियो बनाई चरित्र हत्या गर्नेलाई कानुनी कठघरामा उभ्याउन माग गर्दै महानगरीय अपराध महाशाखामा उजुरी दिएको छ ।

विविध अश्लिल भिडियोमा नेपाली अभिनेत्रीको तस्बिर लगाएर विविध माध्यमबाट इन्टरनेटमा राखिन थालेको र कतिपयले धम्की दिएको पनि गुनासो आएको छ । खासगरी भारतीय ह्याकरहरूले यस्तो गरेको बताइएको छ । अहिले नेपाल–भारतबीच सीमालगायतका विषयमा चर्को विवाद चलिरहेका बेला भारतीय ह्याकरले यसरी हुर्मत लिनेगरी काम गरेको बुझिएको छ ।

यसैक्रममा आफ्नो मुलुकको पक्षमा बोल्दा सामाजिक चरित्र नै हरण गर्नेगरी अन्याय भएको भन्दै अभिनेत्री आँचल शर्माले गुनासो गरेकी छन् । पुजा शर्मालगायतका अभिनेत्रीले पनि यस्ता तत्वलाई कारबाही गर्नका लागि माग गरेकी छन् ।

यता, नेपाली अभिनेत्रीका यस्ता फेक अश्लिल भिडियोमा भारतीय प्रहरीका ह्याकरको संलग्नता रहेको नेपाली ह्याकरहरूको दाबी रहेको छ । अहिले नेपाल र भारतका ह्याकरबीच अघोषित ‘साइबरयुद्ध’ चलिरहेको छ । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्शा जारी गरेपछि इन्टरनेट क्षेत्रमा पनि देशभक्तिको ‘ह्याक’युद्ध चलिरहेको हो ।