काठमाडौं, १७ जेठ । विदेशमा अलपत्र रहेका २५ हजार नागरिकलाई पहिलो चरणमा मुलुक ल्याउने निर्णय गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले प्राथमिकताको कार्ययोजना समेत तयार पारेको छ ।

परराष्ट्र मन्त्रालयको संयोजनमा विदेशमा रहेका नेपाली नागरिकलाई ल्याउने प्रक्रिया सुरु भएको छ । सम्बन्धित मुलुकका राजदूतावासमा पत्राचार गरी फारम भराउनका लागि परराष्ट्र मन्त्रालयले भनिसकेको छ ।

नेपाल फर्किनेहरूका लागि पनि प्राथमिकतामा काजकिरिया गर्न पाउने, भिसा समाप्त भएर बहिर्गमन भएका, विभिन्न दोषमा आममाफी पाएका नागरिकलाई राखिएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीबीच नेपाल फर्किन चाहने नागरिकलाई विविध चरणमा ल्याउने सरकारले तयारी थालेको छ । त्यसका लागि नेपाल एयरलाइन्स र नेपालका अन्य जहाज कम्पनीसँग पनि समन्वय गरी अगाडि बढ्ने सरकारी तयारी रहेको छ ।