विश्व कोरोना महामारीबाट आक्रान्त भएको बेला हाम्रो मुलुक पनि कोरोना संक्रमणसँग जुधिरहेको छ । जनमानसमा यो महामारीको धेरै ठूलो त्रास छ । आफ्नो सुरक्षाका लागि सबैजना यति बेला आफ्नो घरमै बन्द भएका छन् । अत्यावश्यक बाहेक अन्य बाहिर आवत जावत पूर्णरुपले बन्द छ । कोरोनासँग लड्नका लागि यो नै बलियो अस्त्र हो ।

लकडाउनका कारण धेरै ब्यक्तिको जीवनशैलीमै परिवर्तन आएको छ । घरमै बसेर नयाँ नयाँ परिकार बनाएर खाने, लामो समय टेलिभिजन हेर्ने, मोवाइलमा सोसल मिडिया हेर्ने, गेम खेल्ने, सुत्ने जस्ता कामहरु बढी हुन थालेका छन् । यसकिसिमको जीवनशैलीले मानिसहरुमा मोटोपन पनि बढाइरहेको छ ।

मोटोपन बढेको कारण धेरैलाई चिन्ता भएपनि घटाउने उपायहरु अहिले लकडाउनका कारण पनि कम छन् । जिम, मर्निङ वाक, स्विमिङ, खेलकुद गतिविधिमा सहभागि हुन मिल्दैन भने घर भित्रै बसेर गर्न मिल्ने योग र कसरत पनि एक्लै गर्नुपर्दा कतिलाई झन्झटिलो लाग्छ । दैनिक गर्नुपर्ने शारीरिक अभ्यासलाई नै झंझट मान्नाले पनि धेरै ब्यक्तिहरु लकडाउनमा थप मोटाउन थालेका छन् ।

शरीरको तौल बढ्दा जो कोहीलाई चिन्ता हुनु स्वभाविक हो । अझ महिलाहरुलाई बढी चिन्तित बनाउने गर्छ । महिलाहरुको पेटमा लाग्ने बोसोले उनीहरुलाई बढी तनाव दिने गर्छ । ब्यायाम र योग गर्न पनि नचाहने र शरीरमा बोसोको मात्रा बढ्यो भनेर चिन्तित हुने ब्यक्तिहरुले आफ्नो खानपिन शैलीलाई केही सुधार गरेर सन्तुलित भोजन लिएरपनि शरीरको तौल घटाउन सक्छन् ।

एकपटक पेट बढेपछि त्यसलाई घटाउन निकै गाह्रो हुन्छ । तर यो असम्भव भने होइन ।

यसका लागि तपाईंले आफ्नो खानामा केही परिवर्तन ल्याउनुका साथै हल्का व्यायाम पनि गर्नुपर्छ ।

१. मनतातो पानी पिउनुहोस्ः

दिनभरी कम्तीमा पनि ३ देखि ४ ग्लास मनतातो पानी पिउनुहोस् । यसले तपाईंको पेटको बोसोलाई निकै छिटो पगाल्ने गर्दछ ।

२. बदाम (एल्मोन्ड):

दैनिक ४ देखि ५ वटा बदाम खानुहोस् । यसमा पाइने भिटामिन इ, पोलिस्याचुरेटेड र मोनोस्याचुरेटेड फ्याटले भोक नियन्त्रण गर्दछ । यसले पेटको बोसो कम गर्नमा सहयोग गर्दछ ।

३. सौफ मिसिएको पानीः

एक कप पानीमा एक चम्चा सौफ हालेर त्यसलाई उमालेर नियमित रुपमा पिउनुहोस् । यसले तपाईंको पाचन प्रक्रियालाई सुधार्छ भने तपाईंको पेटको बोसोलाई पनि कम गर्दछ ।

४. दहीः

दैनिक रुपमा एक कचौरा दही खानुहोस् । यसमा पाइने क्याल्सियमले पेटको बोसो बढाउने कार्टिसोल हर्मोनको लेभललाई कन्ट्रोल गरेर पेट घटाउन मद्दत गर्नेछ ।

५. हरियो सागसब्जीः

खानामा पालुङ्गो, मेथी र बन्दाजस्ता हरियो तरकारी समावेश गर्नुहोस् । यसमा प्रचुर मात्रामा फाइबर पाइने भएका कारण पेटको बोसो घटाउनमा सहयोग पुर्याउँछ ।

६. ब्रेकफास्टः

बिहान प्रोटिनयुक्त ब्रेकफास्ट खानुहोस् । यसमा अन्डा, दुध, केरा र फलफुलजस्ता स्वस्थकर खानेकुरा समावेश गर्नुहोस् । यसले दिनमा पटक पटक भोक लाग्ने समस्याबाट छुटकारा दिन्छ ।

७. खाना खाँदा पानी नपिउनुहोस्ः

खाना खाने बेलामा पानी नपिउनुहोस् । यसले खाना ठिक तरिकाले डाइजेस्ट हुन दिँदैन जसका कारण बोसो बढ्न थाल्छ । खाना खाएको १० वा १५ मिनेट पछि मात्र पानी पिउनुहोस् ।

८. एकैपटक नखानुहोस्ः

खाना खाँदा एकैपटक नखानुहोस् । आफ्नो खानालाई २ वा ३ घण्टाको ग्यापमा खानुहोस् । यसले पेटको फ्याट घटाउँछ ।

९. ग्रीन टीः

ग्रीन टीमा पर्याप्त मात्रामा थायनाइन नामक एमिनो एसिड हुन्छ । यो एसिडले भोकलाई नियन्त्रण गर्दछ । यसले पेटको बोसो कम हुन्छ ।

१०. महः

नियमित रुपमा एक ग्लास मनतातो पानीमा एक चम्चा मह मिसाएर पिउनुहोस् । यसले तपाईंको बोसो निकै छिटो समयमा घटाउन मद्दत गर्दछ ।

११. मर्निङ वकः

नियमित रुपमा २ देखि ३ किलोमिटर मर्निङ वकमा जानुहोस् । यसले क्यालोरी बर्न गर्न सहयोग गर्नेछ र बोसो घटाउनलाई सहयोग गर्दछ ।

१२. सोडा खाने बानीलाई त्याग्नुहोस्ः

कार्बोनेटेड पेय पदार्थले तपाईंको पेट बढाउने भन्दा केही फाइदा पुर्याउँदैन । त्यसकारण आफ्नो यस्तो बानी छ भने आजदेखि नै छोड्नुहोस् । यसको सट्टा पर्याप्त मात्रामा पानी पिउनुहोस् ।