काठमाडौं : गायिका सरिता भारती ‘देशै रोयो कोरोनाको’ बोलको नयाँ भिडियो लिएर दर्शक श्रोतामाझ आएकी छन्। गीतमा चेतन गोतामे र गायिका सरिता भारतीले सहकार्य गरेका छन्। गायक गोतामे गत वर्ष सम्पन्न गायनसम्बन्धी रियालिटी सो नेपाल लोकस्टारका रनरअप हुन्।

गीत निकै कर्णप्रिय बनेको छ। गायिका सरिता, गायक चेतनसँगै यो गीतमा महेशविक्रम पाण्डे र पूजा गुरुङको पनि स्वर रहेको छ। महेशकै संगीत रहेको गीतलाई सागर प्रधानले लेखेका हुन्।

सोमबार राति यो गीतको भिडियो रिलिज गरिएको हो। गीतको भिडियोमा गायक चेतन र गायिका सरिताले अभिनय गरेका छन्। यी गायकगायिकासँगै अन्य २० जनाभन्दा बढी कलाकारलाई यो गीतको भिडियोमा समेटिएको छ।

गीत लकडाउनकै बेला रेकर्ड गरिएको सरिताले बताइन्। उनका अनुसार गीतको भिडियो दुई दिनअघि छायांकन गरिएको हो। गीतबारे गायिका सरिताले भनिन्, ‘यतिबेला सारा विश्व कोरोना भाइरस (कोभिड—१९) को महामारीमा रहेको बेला गीतकार सागरले समसामयिक शब्द तयार पारेपछि गीत बजारमा ल्याइएको हो। अहिले मुलुकमा कोरोना र त्यसले निम्त्याएका समस्यासँगै नेपालको सीमा भारतले मिचेको पीडा गीतमा समेटिएको छ।’ यसअघि आधुनिक, लोक, पपगीत बजारमा ल्याइसकेकी गायिका सरिता भारतीले राष्ट्रिय भावको गीत भने पहिलो पटक गाएको बताइन्। मुलुकमा लकडाउन हटेपछि अब शम्भुजित बाँस्कोटाको संगीत रहेका आफ्नो एकल गीत ‘ए राजा झट्टै बजाइदेऊ बाजा’ को भिडियो रिलिज गर्ने उनले बताइन्। उनको यो गीत रेकर्ड भइसकेको छ।