गायक शिव परियारले गणतन्त्र दिवसको छेको पारेर नयाँ गीत रिलिज गरेका छन् । कोभिड-१९ का कारण लामो समयदेखि देश लकडाउनमा छ । गायक-गायिकाहरूले गीतको म्युजिक तयार पारे पनि रेकर्ड गरेर बजारमा ल्याउन सकिरहेका छैनन् । 

‘मलाई जन्माउने कोखको कसम
म हुर्केको मेरो माटोको कसम
बरु ठोक गोली थाप्छु यो छाती
ज्यानै हाजिर छ यो देशको लागि
मेरो देश…..’

यस्तो कठिन माहोलका बीचमा नै परियारकाे ‘मेरो देश’ बोलको गीत बजारमा आएको हो । शिव परियार भन्छन्, ‘अहिले देशमा सीमा विवाद छ। छिमेकी राष्ट्रबाट हेपिने र पेलिने खालको अवस्था सिर्जना भइरहेको छ। सीमा सुरक्षाको लागि सम्पूर्ण नेपालीको मनोबल बढाउने सोचअनुरूप यो गीत हामीले बनाएका हौँ ।’ 

नयाँ नक्सालाई गीतको भिडियोमा समावेश गरिएको छ । सडकदेखि सदनसम्मका गतिविधि, देशमा रहेका विभिन्न संस्कृति, भाषा, धर्मलाई एउटै मालामा उनिएको भाव छ गीतमा । 

आफ्नो देशको सुरक्षाका लागि कहिल्यै नझुक्ने र अन्तिम प्राण रहेसम्म देश रक्षाका लागि लडिरहने गोर्खाली छोरोको रूपमा प्रस्तुत गीतले जबर्जस्त देशभक्तिको भाव बोकेको छ ।
 
गीतकारद्वय माधव न्यौपाने र दीपक सापकोटाको शब्द, अराज केशवको संगीत, मोहित मुनालको संगीत संयोजन रहेको गीतको गायनमा शिव परियारलाई गायिका विद्या तिवारीले साथ दिएकी छिन् । गीतलाई एम.एम. स्टुडियो युट्युब च्यानलले बजारमा ल्याएको हो ।