घोराही, १९ जेठ । दाङ जिल्लाको देउखुरीमा शनिबार गुण्डा नाइके विकास पुनसहितको समूहलाई स्थानीयले लखेटेका छन् ।

राप्ती नदीमा डोजरहरू प्रयोग गरी अबैध उत्खनन् गरेको आरोप लगाउँदै लखेटेका हुन् । त्यस क्रममा स्थानीय र ठेकेदार पक्षबीच झडप भएको थियो ।

गढवा गाउँपालिका क्षेत्रका ठेकेदारले गढवा १ मलमला क्षेत्रको राप्ती नदीमा स्काभेटर प्रयोग गरी गहिरा खाडल खनेर राप्ती नदीको धारनै बदल्ने गरी दोहन गर्न थालेपछि स्थानीयले शनिबार विरोध जनाएका हुन् ।

गढवा गाउँपालिकाअन्तर्गतका हात्तीढुंगा, टहंडा, धोद्रेखोला, कालाकाटे, जुरौनी, मलमला, बडहरा तथा राप्ती गाउँपालिकाको भालुबाङ, पाखापानी, कटाहा, खुरुरिया, बसन्तपुर लगायतका बस्तीहरूबाट झण्डै ७ सय जनाले नारा जुलुस गर्दै अबैध उत्खनन् गर्नेहरूको विरोध गरेका थिए ।

नदीबाट स्काभेटर हटाउने क्रम्मा ठेकेदार पक्षका झण्डै १०० व्यक्तिहरूले ठूला लाठीहरूमा काँटी ठोकेर प्रतिकार गर्दा प्रहरीलाई छुटाउन हम्मे हम्मे परेको थियोे ।

केही समय दुबै पक्षबीच झडप हुँदा गढवा गाउँपालिकाका ठेकेदार पक्षले आफ्ना स्काभेटर र टिप्पर हटाएका थिए ।

राप्ती नदीमा स्थानीय तहहरूले नियम, कानूनको उलंघन गर्दै स्काभेटर प्रयोग गरी ३–४ मिटर गहिराइका खाडलहरू बनाई ठूलो मात्रामा नदीजन्य पदार्थ उत्खनन् गरि ट्रिप्परमार्फत क्रेसरमा लैजाने गरेका छन् ।

क्रेसर व्यवसायीहरूको उत्खननको विरोध गर्दै देउखुरीस्थित गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका स्थानीय दिनहुँ जसो आन्दोलित हुने गरेका हुन ।

सगुन कन्ट्रक्सनका सञ्चालक विकास पुनसहितका ठेकेदार झडप भएपछि खोलाबाट भागेका थिए ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादबले स्थानीय र ठेकेदारबीच झडप भएको बताए । उनले लकडाउनमा खोलामा उत्खनन् गर्न गएपछि स्थानीयले ठेकेदारलाई लखेटेको बताए ।

गुण्डा नाइके पुनका पार्टनर ज्ञानु केसीसहितका समूहले अबैध उत्खनन् गरेपनि सरोकारवाला निकायले ध्यान दिएको छैन ।