‘जातीय विभेदविरुद्ध कलाकार एकजुट हौं’

आशा भुसाल, काठमाडौं : मुसलमान भाइको फ्रेस हाउसबाट हलाल गरेको मासु किनेर खान्छौं । मुसलमानको सैलुनमा गएर कमाल मुन्डन गर्छाैं । मुसलमान भाइकै होटल रेस्टुराँ तथा मिठाई पसलमा गएर भोजन गर्छाैं । छोराले क्रिश्चियन धर्मकी गोरी केटी बिहे गर्दा गर्व गर्छाैं । गोरालाई छोरी दिन पाए झनै अगाडि सर्छाैं।

दमाई दाइले सिलाएको कपडा लगाएर आफूलाई उच्च वर्गको ठान्छौं । कामी दाइले बनाएको महलमा बसेर आफूलाई खान्दानी सम्झन्छौं । कामी दाइले नै बनाएको मूर्तिमा पूजा गरेर आफूलाई धर्मात्मा घोषणा गर्छाैं । सार्की दाइले सिलाएको जत्ता लगाएर आफूलाई ‘हिरो’ बनाउँछौं । त्यति विभिन्न पार्टीको खोल ओढेर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नारा लगाउँदै छुवाछुत, समानता, विभेद र मानवअधिकारका भाषण ठोक्दछौं अनि आफूलाई महान् सम्झन्छौं।

कुकुरसँग बसेरसँगै खान्छौं, सँगै सुताउँछौं, चुम्बन गर्छौं तर हिन्दु धर्म भित्रका आफ्नै गोत्रीय दाजुभाइ, सँगैका छिमेकी, आफ्नै देशका दाजुभाइ तथा दिदीबहिनीलाई तल्लो जात र सानो जातको भनेर छुवाछुतको व्यवहार गर्छाैं । घरमा बोलाएर बाहिर खाना दिन्छौं । विवाहमा बाजा बजाउन बोलाएर पाखामा लगेर खान दिन्छौं । किन त्यसो गरेको भन्दा बूढाबूढी वा बाबुआमाले मान्दैनन् र विस्तारै परिवर्तन हुँदै जान्छ भनेर आफू चोखो बन्छौं । हरे, तिम्रो ठूलो जात । कहिले हुन्छ परिवर्तन ? के हामी यही परिवर्तनका लागि लडेका थियौं ?  

समाज परिवर्तनका लागि फिल्म सशक्त माध्यम हुन सक्छ । त्यसैले अब बन्ने फिल्मले जातीय विभेदविरुद्ध आवाज उठाउनुपर्छ, जनचेतना जगाउनुपर्छ ।    

कलाकार भएको हैसियतले यस्तै जातीय भेदभाव अन्त्य होस् भनेर यही विषयमा फिल्म पनि बनायौं । जातीय विभेद अन्त्य होस् भनेर जनचेतनामूलक नाटक पनि देखाउँदै हिँड्यौं । सबै कुरामा परिवर्तन आयो तर जातीय विभेद कहिल्यै घटेन । अब यो परिवर्तनका लागि कला क्षेत्रले ठूलो योगदान दिनुपर्ने बेला आएको छ । यो विषयलाई फिल्म, गीतसंगीत, नाटक अनि साहित्यका विभिन्न माध्यमले गहन रूपमा उठाउनुपर्ने भएको छ । समाज परिवर्तनका लागि फिल्म सशक्त माध्यम हुन सक्छ । त्यसैले अब बन्ने फिल्मले जातीय विभेदविरुद्ध आवाज उठाउनुपर्छ, जनचेतना जगाउनुपर्छ ।

समयको परिवर्तनसँगै हाम्रो लवाइखुवाइमा परिवर्तन आयो तर हाम्रो सोचमा कहिल्यै पनि परिवर्तन आउन सकेन । हामी अझै कहिले आफ्नो सोच बदल्छौं?  अझै नवराज विकजस्ता कति हजारले ज्यान गुमाउन पर्छ यो सोचमा परिवर्तन आउन ? सरकार, हाम्रो देशमा लोकतन्त्र आयो गणतन्त्र आयो, आमूल परिवर्तन भयो भनेर नारा जुलुस पनि ग¥यौं तर खोइ जातीय भेदभाव अन्त्य भएको ?    आज जातीय विभेदकै कारण कतिले अकालमै मारिनु परेको छ भने कतिले आत्महत्या गर्न बाध्य हुनु परेको छ । अब अति भयो, यो विभेद अन्त्य गर्न सबैले आआफ्नो क्षेत्रबाट नलागेसम्म नवराजजस्ता सच्चा प्रेमीको आत्माले शान्ति पाउने छैन ।

(भुसाल, नायिका हुन्)