अनुप पौडेल, पोखरा

नवलपुरका विशाल मगर (३१) रोजगारीका लागि फागुन पहिलो साता भारत पुगे । विनय त्रिवेणी गाउँपालिका १ घर भएका उनले पुग्नेबित्तिकै होटलमा काम थाले । काम सुरु गरेको १ महिनामै भारत सरकारले लकडाउन घोषणा ग¥यो ।

भारतमा लकडाउन हुनु १ दिनअघि नै नेपालमा लकडाउन सुरु भइसकेको थियो । सरकारले आवतजावत रोकेपछि तत्काल स्वदेश फर्कन सकेनन् । ‘फागुनमा गएर काम गरेँ । लकडाउन भएपछि उतै बस्नप¥यो । पछि गाउँपालिकाले गाडी पठाएर गाउँ ल्यायो,’ क्वारेन्टाइनमा दैनिकी बिताइरहेका उनले सुनाए । गाउँपालिकाले सुनौली नाकामसम्म गाडी पठाएको थियो ।

क्वारेन्टाइनको बसाइँ सकेर घर जाने पर्खाइमा छन् । घर फर्किने दिन पर्खिरहेका उनलाई गाउँपालिकाको स्थानीय भानुदय मावि क्वारेन्टाइन सोचेजस्तो नभएको बताउँछन् ।

‘एउटा सिरानी, तन्ना र भुइँमा ओछ्याउने चटाइ दिनुभाछ । बस्ने ठाउँमा पंखा छ तर बत्ती नै बल्दैन,’ उनले सुनाए । विशालसँगै एउटै क्वारेन्टाइनमाबसेका छन् २ वडाका,आमोस हमाल । उमेरले ३० पुगेका उनी भारतबाट आएर क्वारेन्टाइनमा बसेको सोमबार ३ दिन भयो ।

क्वारेन्टाइनमा खानाका लागि खासै अप्ठेरो नभएपनि बस्नका लागि निकै समस्या भइरहेको उनले बताए । ‘शरण लिएर बस्न आएजस्तो, हेपाइ सहेर बसेजस्तो छ,’ उनले भने, ‘धेरै भएर व्यवस्था गर्न सकिएन भन्न पनि मिलेन । मान्छे जम्मा १७/१८ जना मात्र छन् ।’ कोरोना संक्रमण नभएपनि भारतबाट आएको भनेपछि क्वारेन्टाइनमा बसिरहेका आफूहरुलाई हेर्न दृष्टिकोण नै नकरात्मक बनेको हमालले बताए ।

क्वारेन्टाइनमा आराम गरिरहेका पुरुष

‘बत्ती नि छैन, पंखा पनि छैन । हामीले भनेका हौंं,’ उनले भने, ‘बनाउने मान्छे तिमीहरुको छेउछाउमा आउन मान्दैनन् भन्नुहुन्छ ।’ भारतको गुरुगाउँबाट सुनौली नाकासम्म आएका उनलाई पनि गाउँपालिकाले उद्धार गरेर घर ल्याएको हो ।

गाउँपालिकाले समन्वय गरिदिएपछि छिमेकी पालिकाको गाडीमा गाउँ आइपुगेको हमालले बताए । आफू स्वयं गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा आएर बसेको उनले सुनाए ।

‘म कसैको दबाबमा क्वारेन्टाइनमा आएर बसेको होइन । मैले आफ्नो परिवार र समाजलाई पनि हेर्नुप¥यो नि,’ हमालले भने । क्वारेन्टाइनमा बसेकाहरु भाग्ने गरेको सुन्दै आएका उनले अहिले आफू क्वारेन्टाइनमा बसेपछि भाग्नुको कारणबारे स्पष्ट भएका छन् ।

‘बस्नलाई व्यवस्थित छैन । अर्कौ तरिकाले जीवनशैली बिताइरहेको मान्छे यसरी बस्नुपर्दा उसलाई पनि टर्चर हुन्छ नि,’ उनले थपे, ‘म आफै क्वारेन्टाइनमा बसेपछि भाग्नुको कारण थाहा पाएँ ।’

समाधानको पहल भइसक्यो : गाउँपालिका
क्वारेन्टाइनमा बसेकाहरुको गुनासो सुनेपछि भएका समस्यालाई समाधान गर्ने प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ । ‘क्वारेन्टाइनमा भएको समस्या थाहा पाएपछि हामीले निरीक्षण ग¥र्यौं । खाटको व्यवस्था गर्न नसकेको अवस्थाचाहिँ हो । त्यो व्यवस्था गर्नसक्ने अवस्था पनि छैन ।

कार्पेट राखेर, म्याट राखेर, तन्ना राखेर व्यवस्था गरेका छौं,’ गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले भने । सबै क्वारेन्टाइनमा समस्या नरहेको र समस्या भएको क्वारेन्टाइनको निरीक्षण गरेरसमाधानका लागि पहल थालिसकेको उनले बताए ।

ठूलो संख्यामा बस्दा सामान्य समस्या हुनु स्वाभाविक रहेको उनले बताए । ‘सामान्य समस्या भइहाल्छ । घरमा बसेजस्तो हुँदैन । कसैलाई खटायो भने पनि जान मान्दैन,’ अध्यक्ष जिसीले सुनाए ।

भारतबाट १७४ जनाको उद्धार

भारतको विभिन्न ठाउँमा पुगेर अलपत्र परेका १ सय ७४ जनाको विनय त्रिवेणी गाउँपालिकाले उद्धार गरेको छ । नेपाल–भारत सीमामा अलपत्र परेका गाउँबासीलाई गाउँपालिकाले गाडी पठाएर उद्धार गरेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ध्रुवराज काफ्लेले जानकारी दिए ।

उद्धार गरिएकामध्ये १ सय ४९ जना पुरुष, २४ जना महिला र ५ वर्षमुनिकी बालिका रहेको काफ्लेले बताए । उनकाअनुसार उद्धार गरिएका र बाहिरबाट आएकालाई राख्न गाउँपालिकाको १२ ठाउँमा २ सय बेडको क्वारेन्टाइन बनाइएको छ ।

सरकारले बनाएको क्वारेन्टाइन निर्माण मापदण्ड पालना गर्न सम्भव नभएपनि सक्दो प्रयास गरेको उनले बताए । काफ्लेले भने, ‘केन्द्र सरकारले भनेअनुसारको क्वारेन्टाइन बनाउन गाह्रो छ । मिल्ने ठाउँमा वाइफाइ, पानी, चर्पी सबैको राम्रो व्यस्था छ । हामीले क्वारेन्टाइनलाई व्यवस्थित बनाउन सकेको प्रयास गरेका छौं ।’

उनका अनुसार देशका विभिन्न ठाउँमा बनाइएका क्वारेन्टाइनमा बसेकाहरु भाग्ने गरेको भएपनि गाउँपालिकामा त्यो समस्या छैन । गाउँका स्थानीय कोरोनाका विषयमा सतर्क रहेको काफ्लेले सुनाए ।

‘यहाँका मान्छेले बाटोमा हिँड्दा पनि सर्छ कि भनेर सतर्कता अपनाउनुभएको छ,’ उनले थपे, ‘भागे पनि जाने कहाँ ?, भारतबाट आएको उतै जाने कुरा भएन । आफन्त कहाँ गए राख्दैनन् । घर गए छरछिमेकले बस्न दिँँदैनन् । त्यसैले कोही भाग्छजस्तो लाग्दैन ।’