थुनामा रहेकै बेला अफ्रिकी मुलका १ अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा अहिले पनि जारी छ । देशभरका विभिन्न शहरमा प्रदर्शनहरु भएपछि हिंसा थप भड्किन नदिन स्थानीय सरकारले करिब ४० शहरमा कर्फयू आदेश जारी गरेका छन् ।

केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा ५ जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी प्रदर्शनमा उत्रिएकामध्ये हजारौलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा निधन भएको थियो । उनलाई १ स्वेत प्रहरीले ह-त्या गरेको भिडियो सार्वजनिक भएपछि अमेरिकाभर विरोध प्रदर्शन चर्किएको हो ।

सयौँ मानिसहरूले ४६ बर्षीय फ्लोइडको ह-त्यामा न्यायको माग गर्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि पनि प्रदर्शन गरेका थिए ।

देशभरका झण्डै १ सय ४० सहरमा चर्को विरोध प्रदर्शन भएको र यति धेरै ठूलो प्रदर्शन अमेरिकामा कम हुने गरेको एक अधिकारीले बताएका छन् । गत ६ दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झण्डै २ दर्जन शहरहरुबाट प्रहरीले २ हजार ५ सय ६४ जनालाई पक्राउ गरेको थियो ।