राहत वितरण गर्न जाँदा दुर्घटनामा परेकी रन्जुको उपचारका क्रममा मृत्यु

मोरङको सुन्दरहरैंचामा लकडाउन प्रभावितलाई राहत वितरणका लागि जाने क्रममा दुर्घटनामा परेकी नेकपा सुन्दरहरैंचा नगर कमिटि सदस्य अनिता न्यौपाने (रञ्जु) को उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाईते भएपछि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत न्यौपानेको गएराती मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुन्दरहरैंचा–१० त्रिवेणी टोलकी ४० बर्षीया न्यौपाने राहत वितरणका लागि जाने क्रममा बैशाख २७ गते दुर्घटनामा परेकी थिईन् ।

न्यौपाने सवार को.३१ प.३११७ नम्बरको स्कुटरलाई बिराटचौकमा प्रदेश नं.१–०२–००२ ह.८५२३ नम्बरको सिटी सफारीले ठक्कर दिदा उनी गंभीर घाईते भएकी थिईन् ।

मोरङको सुन्दरहरैंचा नगर कमिटि सदस्य अनिता न्यौपाने (रञ्जु) । तस्विर ourbiratnagar.net बाट

नोबेल अस्पतालमा उपचारका क्रममा २३ दिनपछि उनको मृत्यु भएको हो । दुर्घटना पश्चात सिटी सफारी र चालक बिराटचौकका ३२ बर्षीय खगेन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर जमानीमा छोडेको थियो ।

तर, घाईते न्यौपानेको मृत्यु भएपछि पुनः चालक पौडेललाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायव निरीक्षक रमेश प्रधानले जानकारी दिए ।