काठमाडौं : बलिउडका चर्चित संगीतकार वाजिद खानको कोरोना भाइरसको संक्रमणबाट ४२ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार बिहान मुम्बईको चेम्बुरस्थित सुराना अस्पतालमा निधन भएको हो। एक साताअघि उनको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो।

गत वर्ष मिर्गौला फेरेका उनी मिर्गौलामा समस्या भएपछि अस्पताल भर्ना भएका थिए। कोरोनाले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिको ज्यान लिने गरेको विभिन्न अध्ययनले देखाएको छ।

साजिद–वाजिदको जोडीले तेरे नाम, तुमको ना भूल पाएगें, एक था टाइगर, दबंग, दबंग २, दबंग ३, पार्टनर, सन अफ सरदार, राउडी राठौर, हाउसफुल २ लगायत फिल्ममा संगीत दिएका थिए। सन् १९९८ मा रिलिज गरिएको सलमान खान अभिनीत ‘प्यार किया तो डरना क्या’ बाट डेब्यु गरेको यो जोडीले प्रायः संगीत सलमान खानका सिनेमाका लागि गरेका थिए।

संगीतकार वाजिदले दबंग, वान्टेड, वीर, नो प्रोब्लेम, गड तुस्सी ग्रेट हो, पार्टनरलगायत कयौं फिल्ममा गीत पनि गाएका थिए। उनले टेलिभिजनका केही रियालिटी सोहरूमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए।

यसैगरी, चलचित्र निर्माता, कलाकार एवम् नेपाल चलचित्र निर्माता संघका साधारण सदस्य खेम थापाको उपचारको क्रममा निधन भएको छ। कालिका फिल्म प्रोडक्सनको ब्यानरमा परेली र यो मायाँले लौन सतायो जस्ता फिल्म निर्माण गरेका थापाले रक्षा, कसम, जमिनलगायतका फिल्ममा अभिनय गरेका छन्।