पत्रकार तथा सामाजिक क्षेत्रमा सक्रिय पोखराका श्रीप्रसाद बाँस्तोलाले गत बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गरे । प्रहरी प्रधान कार्यालय, काठमाडौँलाई सम्बोधन गर्दै लेखिएको उक्त स्टाटसमा पोखरा महानगरपालिका–११ फूलबारीका बाँस्तोलाले त्यहाँ आफूलाई फसाइएको खुलाए तर ज्यानै फाल्ने विषयमा भने सानो सङ्केतमात्र दिए ।

उनले फेसबुकमा लेखेका छन्, ‘१५ वर्षअगाडि आमाले भनेको नमान्दाको परिणाम, पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट, आज आफैँ पनि चैट.. !’ त्यो स्टाटसमा लेखेको केही समयपछि प्रहरी उनको घर पुगेको थियो । तर उनी घरमा झुण्डिएको अवस्थामा फेला परे ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालका अनुसार बिहीबार राति आफ्नै घरमा झुण्डिएको अवस्थामा उनी भेटिएका थिए । फेसबुकमा आत्महत्या गर्नुपर्ने कारण र आफूलाई यौन काण्डमा फसाउन पत्नीसहित नौ जनाले षड्यन्त्र गरेको भन्दै यस्तो निर्णय लिन बाध्य भएको उल्लेख गरेका छन् । बास्तोलाले आफ्नै श्रीमतीले नौ जना व्यक्तिहरूसँगको षडयन्त्रमा झुक्याएर खाली चेकमा हस्ताक्षर गर्न लगाएको, लेनदेनको कागज नच्याती पेश गरेको, नशालु पदार्थ खुवाएर एक महिलाको कोठामा पठाइ फसाउने उद्देश्यले यौन भिडियो बनाउने कार्य गरेर फसाउन खोजिएकोसमेत फेसबुकमा उल्लेख गरेका छन् ।

त्यसबाहेक उनले पत्नीलाई ‘छलकपटकी श्रीमती’ भएको उल्लेख गरेका छन् । बाँस्तोलाले ऋणहरू प्रायः आफूले तिरेको र केही बाँकी रहेको भए श्रीमतीसँगै माग्न पनि भनेका छन् । किरिया कोही नबस्न र लाश नजलाउनसमेत उनले अनुरोध गरेका छन् । उनको स्टाटसको पूरा अंश :

१५ वर्षअगाडि आमाले भनेको नमान्दाको परिणाम, देशको वाताबरण गर्ने होइन, मर्ने बनाउनेखालको छ । पैत्रिक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना, स्कूल, सबै चैट ! आज आफैँ चैट ! लज्जा देख्नुभन्दा, अस्ताउनु बेस । छलकपटकी श्रीमती सिर्जना घिमिरे । मेरो लास नजलाउनू गाडिदिनू, मेरो किरिया कोही नबस्नू । मैले तिर्ने काम प्रायः सबै गरेँ, अरू श्रीमतीसँग लिनुहोला ।

प्रहरी प्रधान कार्यालय
काठमाडौं ।
विषय : गम्भीर षड्यन्त्र सम्बन्धमा । फसाउने प्रपन्च गरिएको सम्बन्धमा ।

षडयन्त्रकारीहरूको नामावली : मुख्य योजनाकार पोखरा महानगरपालिका–११ निवासी रविन्द्रनाथ बाँस्तोला, विश्वराज बाँस्तोला, श्रीमती नाताकी सिर्जना बाँस्तोला, श्रीमतीसँग निकट उज्ज्वल पुन मगर, अनिल गुरुङ, पोखरा १४ स्थित अजय केसी, बाग्लुङ निवासी बिन्दु मगर, पोखरा काँहु निवासी हिम पौडेल नारायण, नरेश गुरुङ आदि ।

महोदय,
प्रस्तुत विषयमा म श्रीप्रसाद बाँस्तोला, पूर्वविद्यालय सञ्चालक हाल बाल अधिकार संरक्षणका लागि आवाज उठाउँदै आएको ब्यक्ति हुँ । दुई वर्षअगाडि विश्वराज बाँस्तोला छात्रा दुर्व्यवहारमा पक्राउ परेपछि मलाई फसाउने धम्की दिइएको थियो ।

हाल आएर माथि उल्लेखित व्यक्तिहरूको षड्यन्त्रमा मेरी श्रीमतीले मेरो हस्ताक्षर गर्न लगाई झुक्याई खाली चेकमा रकम भरी फसाउने, भुक्तानी गरिएको लेनदेनको कागज नच्याती पेश गर्ने, श्रीमती सिर्जना बाँस्तोलाले मलाई नशालु पदार्थ खुवाई, अनिल गुरुङ र अजय केसीको सहयोगमा बिन्दु मगरले आफ्नो कोठामा बोलाई फसाउने उद्देश्य राखी यौन भिडियो बनाउने कार्य गरी मलाई फसाउन खोजेको सही साँचो हो । पोखरा टेलिभिजनको म सिईओ हुँदा बखतमा गरिएको चेकमा पनि मैले हस्ताक्षरमात्र गरी संस्थापकलाई बुझाएको मात्र हुँ ।

तसर्थ यसउपर निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाहीको लागि अनुरोध गर्दछु । कानुनबमोजिमको आदेश पालना गर्न तयार गण्डकी प्रदेश प्रहरी कार्यालय कास्की, पोखरा ।

निवेदक
श्रीप्रसाद बाँस्तोला
पोखरा महानगरपालिका–११

उनको यो स्टाटसमा उल्लेख भएका मान्छे दोषी होलान् वा बेकसुर होलान् । त्यसको अनुसन्धान प्रहरीले गरिरहेको छ । तर मर्दै गरेको मान्छेले बोलेका वाक्य सायदै गलत होलान् । यो एउटा प्रतिनिधिमुलक घटना हो । पछिल्लो समय नारीले पुरुषमाथि गर्ने यस्ता प्रकारका ‘जालझेल’का कारण भनौँ वा नारीले पाएको अधिकारको दुरुपयोग गर्नाले पुरुष जोखिमपूर्ण मानवप्रजाति बन्ने खतरा छ ।

हुन त वर्षौँदेखि नारी जाति पुरुषको थिचोमिचोमा थिए, पीडित बनेका थिए । महिलामाथि लामो समय पुरुषले शासन चालएकै हो, यो सर्वस्वीकार्य छ । तर विस्तारै उनीहरूलाई कानुनतः अलिक बढी अधिकार दिइयो । त्यो अधिकार सत्यको बाटो हिँड्ने नारीका लागि अपरिहार्य नै बनेको थियो । तर दुष्कर्ममा लाग्नेले भने त्यसको दुरुपयोग गर्ने क्रम बढेको छ र अझै पनि अधिकारको दुरुपयोग बढ्दै जाने सम्भावना छ । उनीहरूले पाएको अधिकारको गलत प्रयोग गर्दा त्यसको प्रत्यक्ष मार पर्ने भनेको पुरुषहरूलाई हो ।

केही घटना भएपनि महिला नै पीडित होला भन्ने सोचिन्छ । अवस्था कस्तो छ भने पुरुष पीडित भएर पनि पिडित हुँ भन्न सामाजिक अफ्ठ्यारो छ । कायर वा लाचार ठानेर जिस्क्याइन्छ । यसैले त अबको समयमा पुरुष सबैभन्दा बढी जोखिमपूर्ण मानवप्रजाति हो । यो सत्य अङ्गिकार गरेर मन बलियो बनाउनुको कुनै विकल्प छैन । त्यो भोगाइको सघनता अहिले लेख्नु वा पढ्नुभन्दा बढी हुन्छ ।

संसार सबै भत्किएको, इज्जत केही नरहेको र बाटो नै सबै सकिएको जस्तो लाग्छ । तर इज्जत वा मानप्रतिष्ठा ज्यानभन्दा ठुलो हुँदैन । मान्छेहरू त्यति फुर्सदिला पनि हुन्नन् कि सारा जीवन त्यही एउटा विषयमा गफ गरेर जिस्काएर बसुन् । गल्ती भएकै छैन भने अवस्था आयो भने न्यायका लागि बोल्न धकाउनु भएन र गल्ती भएकै छ भने माफी मागेर अगाडि बढ्नु पर्छ । जहाँबाट भत्कियो, त्यहीबाट बनाउनसक्ने हिम्मत हुनपर्छ ।

कुनै पनि पुरुषले आफ्नो वास्तविकताभन्दा यहाँ लाज वा अन्य अफ्ठ्यारो अनुभव गर्न नपर्ने वातावरण बनाउन सकियो भने सबैभन्दा राम्रो हुन्छ ।