शृंगारलाई नारीको गहनाको रूपमा लिइन्छ। शृंगार मिलेन भने मानिसको सुन्दरता नै फिक्का हुन्छ। त्यसकारण शृंगार गर्दा ध्यान दिनुपर्ने सौन्दर्यकर्मीको सुझाव छ। शृंगार गर्दा ध्यान दिनुपर्ने एक अंग हो, ओठ। सुन्दरताका लागि ओठको शृंगार गर्न आवश्यक रहेको सौन्दर्यकर्मी बताउँछन्।

ओठको प्रकार अनुसार शृंगार गर्नुपर्ने सौन्दर्यकर्मी बताउँछन्। ओठको शृंगारका लागि धेरै थरिका सौन्दर्य सामग्री पाइन्छन्, जसमा लिपस्टिक, लिप लाइनर, लिप ग्लस, लिप हाइलाइटर मुख्य छन्। पछिल्लो समय ओठका शृंगारमा महिलाले चासो दिने गरेका छन्। ओठको शृंगार महिलाको फेसन बनेको सौन्दर्यकर्मीको भनाइ छ। सौन्दर्यकर्मीका अनुसार व्यस्त महिलाको रोजाईमा मेट लिपिस्टिक पर्ने गरेको छ। मेट लिपिस्टिक एक पटक प्रयोग गरेपछि लामो समयसम्म रहिरहन्छ। र, लिपिस्टिक लगाउँदा जहीँतहीँ लाग्दैन।

यो लिपिस्टिकले ओठलाई धेरै सुख्खा बनाउने  हुँदा यसले ओठ कालो बनाउने, ओठ फुट्ने, सुख्खा हुने जस्ता समस्या देखिएको कतिपय बताउँछन्। तर, अस्तिा ब्युटीपार्लरकी सौन्दर्यकर्मी अप्सरा खत्री यो कुरा मान्न तयार छैनन्। उनी यसको लगाउने र स्याहार विधि जानेमा कुनै समस्या नहुने बताउँछिन्। उनका अनुसार यो लिपिस्टिक प्रयोग गरेपछि ओठमा पनि मोस्चराइजर र लिप बाम लगाउँदा ओठलाई समस्याबाट जोगाउन सकिन्छ।

काठमाडौँ मलमा रहेको फेसिरयल हाउसकी वरिष्ठ सौन्दर्यविद् एवम् महिला उद्यमी सुष्मा महरा लिपिस्टिक, लिपलाइनर तथा लिप बाम गुणस्तरीय हुनु आवश्यक रहेको बताउँछिन्। ओठको प्रकृति सुहाउँदो लिपिस्टिक प्रयोग गर्नुपर्ने उनको सुझाव छ। लिपिस्टिक लगाउनुअघि ओठमा लिप बामको भने प्रयोग गर्नुपर्छ। यसले ओठलाई नरम बनाउँछ, जसले गर्दा ओठको मेकअप गर्न सहज हुन्छ। लिपिस्टिक लगाउनुअघि लिपलाइनर पनि प्रयोग गरिन्छ किनभने यसले लिपिस्टिकलाई आकार दिनुका साथै धेरै बेरसम्म अड्याएर राख्न सहयोग गर्छ।

अनुहारमा कुनै पनि शृंगारका सामग्री प्रयोग गर्नुपूर्व विशेष ध्यान दिनुपर्ने स्वास्थ्य चिकित्सक बताउँछन्। त्रिवि शिक्षण अस्पतालका छाला तथा यौन रोग विशेष डा. अनिल दास ओठ पनि अनुहारको संवेदनशील अंग भएकाले यसको शृंगार गर्दा होसियार हुनुपर्ने बताउँछन्। ‘ओठको छाला भनको निकै नरम र कलिलो हुन्छ,’ उनले भने, ‘ओठका शृंगारका सामग्रीमा धेरै मात्रा केमिकल हुने भएकाले ओठलाई असर गर्ने सम्भावना धेरै हुन्छ।’ उनका अनुसार विशेष गरेर लिपिस्टिकले ओठलाई सुख्खा बनाउँछ। यति मात्र नभएर ओठमा इरिटेसन, एलर्जी रियाक्सन, फोटो डरमाटिस, कन्ट्याक एलर्जी जस्ता समस्या देखिन सक्छन्।

‘ओठमा यस्तो समस्या देखिएमा सबैभन्दा पहिले घरेलु उपचार गर्नुपर्छ,’ डा. दासले भने, ‘लिपिस्टिक दैनिकरूपमा प्रयोग गर्ने भएकाले प्रयोग गरेपछि विशेष ख्याल गर्नुपर्छ। हरेक दिन सुत्नुअघि लिपिस्टिकलाई सफा पानी र कपडाले पुछ्नुपर्छ। लिपिस्टिले ओठलाई सुख्खा बनाउने भएकाले ओठ सफा गरेपछि चिल्लो पदार्थ लगाउनुपर्छ।’
उनका अनुसार चिल्लो पदार्थ प्रयोग गर्दा पनि ब्राण्डेड लिप बाम प्रयोग गर्नुपर्छ। नत्र फेरि त्यसले अर्को समस्या निम्त्याउन सक्छ।