क्रियाशील पत्रकार महिला बाँकेमा नयाँ नेतृत्व

क्रियाशील पत्रकार महिला बाँकेको पाँचौं साधारणसभा एवम् अधिबेशन आज नेपालगञ्जमा सम्पन्न भएको छ । क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष दिपा आलेको सभापतित्व एवम् नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले पत्रकार महिलाहरुको क्रियाशीलता तथा दक्षता अभिबृद्धिका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । पत्रकारितामा लाग्न प्रेरित गर्नेदेखि अहिले काम गरिरहेकाहरुलाई टिकाई राख्न ध्यान दिनुपर्नेमा बक्ताहरुको जोड छ ।

प्रमुख अतिथि उपमेयर थापाले पत्रकारितामा क्रियाशील भएर लाग्न सबै पत्रकार महिलाहरुलाई आग्रह गर्नुभयो । क्रियाशील पत्रकार महिला बाँकेकी संस्थापक सचिव एवम् पूर्व अध्यक्ष समेत रहनुभएकी उपमेयर थापाले पत्रकार महिलाहरुलाई एकताबद्ध भएर अघि बढ्न सुझाब समेत दिनुभयो । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य मधु शाहीले पत्रकार महिलाहरुले उच्च मनोबलका साथ डटेर काम गर्नुपर्ने जोड दिनुभयो । प्रदेश नम्बर ५ का सचिव शुक्रऋषि चौलागाईंले विभिन्न कठिनाईका बाबजुद् पनि पत्रकारिता गरिरहेका महिलाहरुलाई प्रोत्साहित गर्न पत्रकार सम्बद्ध सबै संस्थाले भूमिका खेल्नुपर्ने बताउनुभयो । बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुले पत्रकार महिलाहरुको पत्रकारिता क्षेत्रमा उपस्थिति बढाउन महासंघ गम्भीर रहेको बताउनुभयो ।

कार्यक्रममा प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, नेपाल प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष नरेन्द्र थापा, क्रियाशील पत्रकार महिला प्रदेश ५ की उपाध्यक्ष रुपा गहतराज, बाँके शाखाकी संस्थापक अध्यक्ष अक्षरी पोख्रेल, संस्थापक सहसचिव सन्ध्या शाह, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, ठकुरी पत्रकार समाज बाँकेकी अध्यक्ष करुणा शाह, पर्यटन पत्रकार संघ बाँकेका सचिव मधु पौडेल र आदिबासी जनजाति पत्रकार महासंघ बाँकेका कोषाध्यक्ष सोम गुरुङले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

उपाध्यक्ष अमृता केसीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण सहसचिव सावित्री गिरीले गर्नुभएको थियो । त्यस क्रममा संस्थापक अध्यक्ष पोख्रेल र अष्ट्रेलियामा बस्दै आउनुभएकी संस्थापक सहसचिव शाहलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

यसैविच अधिबेशनले आजै अमृता केसीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमीति पनि चयन गरेको छ । उपाध्यक्षमा सावित्रि गीरी, सचिवमा करुणा शाह, सहसचिवमा कमला हमाल र कोषाध्यक्षमा निशु जोशी चयन हुनुभएको छ । त्यस्तै, सदस्यमा सुनीता वर्मा र समीत्रा सुवेदिलाई चयन गरीएको छ ।