पोखरा । अन्तर्राष्ट्रिय धावक तथा पूर्व ब्रिटिस गोर्खा सैनिक लेफ्टिनेन्ट कुसाङ कुमार गुरुङले तेस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका छन्।
पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा असोज २४ गते हुने प्रतियोगिताको प्रथम पुरस्कार गुरुङले प्रायोजन गर्ने भएका हुन्।
उनले यसअघि पनि प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गरेका थिए।
अन्तर्राष्ट्रियस्तरका विभिन्न म्याराथन तथा पर्वतीय दौडमा सहभागिता जनाएका गुरुङले खेलकुदमार्फत नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन योगदान पुर्याउँदै आएका छन्। उनले मलेसियामा आयोजित माउन्ट किनाबालु क्लाइम्बाथनमा ह्याट्रिकसहित सफलता हासिल गरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल भएको आयोजकले जनाएको छ।
गुरुङले १९ भन्दा बढी म्याराथन र २३ हाफ म्याराथन पूरा गरिसकेका छन्। खेलकुदसँगै उनी विभिन्न सामाजिक संस्थामार्फत सामाजिक सेवामा पनि सक्रिय छन्।
प्रतियोगिता संयोजक दीननाथ बरालले गुरुङसँग पुनः सहकार्य गर्न पाउँदा गौरव महसुस भएको बताए। पोखरा प्रवद्र्धन केन्द्रका सचिव सागर सुनारले पुरस्कार प्रायोजनसँगै प्रतियोगिताको प्रचार–प्रसारमा गुरुङको तस्वीरसहितको लोगो प्रयोग गरिने बताए।
प्रतियोगिताको खुला विधामा प्रथम हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। खुला विधासहित ६ वटा इभेन्टमा प्रतियोगिता सञ्चालन हुनेछ।
गत वर्षको दोस्रो संस्करणमा ८ देशका १६७ जना धावक सहभागी भएका थिए।














