काठमाडौं । सरकारले वरिष्ठ सहसचिव आभा श्रेष्ठ कर्णलाई प्रशासन सेवातर्फको सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव कर्णलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रशासन तर्फ रिक्त रहेको एक सचिव पदमा श्रेष्ठलाई बढुवा गर्ने निर्णय भएको जानकारी दिए।

कर्ण २०७१ सालमा सहसचिव बनेकी हुन्। हाल मधेश प्रदेशमा कार्यरत कर्ण सचिव बढुवाका लागि यसअघि पनि सिफारिसमा पर्दै आएकी थिइन्।

श्रेष्ठलाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापना गरिएको छ।

गण्डकी प्रदेशका प्रमुख सचिव भूपाल बरालको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ।

बराल यसअघि अर्थ मन्त्रालयमा राजस्व सचिव थिए। सरकारले उनलाई त्यहाँबाट गण्डकी प्रदेशको प्रमुख सचिवमा पठाएको थियो।

अहिले कर्णलाई बढुवालगत्तै गण्डकीको प्रमुख सचिव बनाएपछि बराललाई राष्ट्रिय सतर्कता केन्द्रमा लगिएको हो।

यससँगै छोटो अवधिमै बरालको जिम्मेवारी राजस्व सचिवबाट गण्डकी प्रदेशको प्रमुख सचिव हुँदै राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा पुगेको छ।