पोखरा । नेपाली कांग्रेसका नेता तथा पूर्वसहायक मन्त्री प्रकाशबहादुर गुरुङको निधन भयो । उनको उपचारको क्रममा पोखराको मणिपाल अस्पतालमा मंगलबार निधन भएको हो । उनी केही समयदेखि अस्वस्थ थिए । उनको ७२ वर्षको उमेरमा निधन भयो ।
उनी राजनीतिमा आउनुअघि अध्यापन पेसामा थिए । कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकका गोलमान साहुका नाति तथा मीनबहादुर गुरुङका छोरा थिए उनी । नेपालका ठूला आंगिक क्याम्पसमध्येको एक पोखराको पृथ्वीनारायण क्याम्पसमा उनले करिब साढे १५ वर्ष प्राध्यापन गरे । सरकारी सेवाको पेन्सन अवधि निस्कन केही समय मात्र बाँकी हुँदा उनले प्राध्यापन पेसा छाडे । त्यसपछि उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिए ।
२०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले उनलाई कास्की क्षेत्र नम्बर ३ बाट रुख चिन्ह दिएर उम्मेदवार बनायो । उनले उक्त निर्वाचनमा नेकपा एमालेका चर्चित नेता सोमनाथ अधिकारी प्यासीलाई पराजित गरे । उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।
Advertisement
संसदीय यात्रामा सफलता हासिल गरेपछि उनी २०५८ सालमा मन्त्री बने । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहायक मन्त्रीको जिम्मेवारी सम्हाले । त्यसबेला पूर्णबहादुर खड्का क्याबिनेट मन्त्री थिए ।
अहिले उनको शव घरमा राखिएको छ । उनको पार्थिव शरीरलाई बुधबार बिहान १० बजेर ३० मिनेटमा श्रद्धाञ्जलीका लागि राखिनेछ । नेपाली कांग्रेसको चिप्लेढुंगास्थित जिल्ला पार्टी कार्यालयमा पार्थिव शरीर राखिनेछ । त्यहाँ करिब आधा घण्टा श्रद्धाञ्जलीका लागि राखिनेछ । त्यसपछि उनको पार्थिव शरीर पोखराको रामघाट लगिनेछ । रामघाटस्थित बौद्ध अर्घौं सदनमा उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको कास्को काग्रेसले जनाएको छ ।














