पोखरा ।
नेपाली सुगम संगीत र चलचित्र क्षेत्रमा ठूलो योग्दान दिएकी गायिका दीपा नारायण झाका गितहरुलाई पोखरेलीहरुले पून सुन्न पाउनेभएका छन् । पोखराका कर्मशील गायिकाहरुलाई एकैठाउँमा उभ्याउने उद्देश्यसहित २०७३ मा स्थापित हार्मेनी पोखराको आयोजनामा यही पौष २९ गते पोखरा सभागृहमा सदावहार गायिका झालाई सुन्न पाउने भएको हो ।

हार्मोनी पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि उक्त कार्यक्रमबारे जानकारी दिएको थियो । पहिलो, दोस्रो र तेस्रो संस्करण सफलता पूर्वक आयोजना गरिसकेको यस संस्थाले चौंथो संस्करण पनि आयोजना गर्न लागेको हो ।

कोरानाका कारण केही समय स्थगित भएको यस कार्यक्रमले पून निरन्तरता पाउने भएको संस्थाका अध्यक्ष ईतु जोजिजुले बताएकी थिइन् । यस कार्यक्रममा दीपा नारायण झाको उपस्थिती रहने र उनलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको उनले जानकारी दिएकी थिइन् ।

भारतको पश्चिम बंगालमा सांगितिक परिवारमा जन्मिएकी दीपा गहतराज विश्व चर्चित गायक उदित नारायण झाको धर्मपत्नी हुन् । उनले आफ्नो सांगितक यात्राको शुरुवाती चरणमा गाएको चलचित्र कुसुमे रुमाल को शीर्ष गीत आज पनि नेपाली गित संगीतको क्षेत्रमा चर्चित छ ।

उनले सम्झना, कुसुमे रुमाल, मशाल, लाहुरे, अन्याय, पिरती, सन्तान, कन्यादान, फेरि भेटौला, कर्जा, पर्छयौरी, देउकी आदि जस्ता नेपाली चलचित्रका गितहरुमा आवाज दिएकी छन् । उक्त कार्यक्रममा दीपासहित ईतु जोजिजु, शीतल थापा, अजुदा थापा, कौशल्या गुरुङ्ग, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतिक्षा देवकोटा, देवी गुरुङ्ग, रजनी ऋदम राई, प्रिया गुरुङ्ग र प्रकृति श्रेष्ठ लगायतले प्रस्तुति दिने भएका छन् ।

त्यस्तै उक्त कार्यक्रममा सहयोगी गायकको रुपमा रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमुले समेत प्रस्तुती दिने भएका छन् । यस कार्यक्रममा दीपा नारायण झाले गाएका करिब दुई दर्जन गीतहरु यहाँका कलाकारहरुले प्रस्तुत गर्ने भएका छन् ।

त्यस्तै संस्थाकी अध्यक्ष ईतुका अनुसार यस कार्यक्रममा क्यान्सरसँग लडिरहेकी पोखराकी लक्ष्मी शर्मा भट्टराई र भायोलिन तथा पियानो बादब उपासना पाख्रिन लामालाई विशेष प्रोत्साहन सम्मान गर्ने समेत बताइन् ।