पोखरा । नेपाल पत्रकार महासंघ कास्कीद्धारा आयोजित विषयवस्तु लेखन तालिम सम्पन्न भएको छ । आइतबार देखि सोमबारसम्म महासंघको सभाहलमा चलेको तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति ९रासस० का प्रधान सम्पादक एकराज पाठक, दि राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल रहेका थिए । तालिमकै समय पोखराबाट पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरुले आफ्नो अनुभव सुनाएका थिए ।

सोमबार तालिमको समापन गर्दै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले ‘सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ’, उहाँले भन्नुभयो, ‘फेरि विषयवस्तु लेखनका विषयमा तालिम हुनु सह्रानिय पक्ष हो ।’ उहाँले पत्रकारिता क्षेत्र मर्यादित हुनुपर्ने आवश्यकतालाई औंल्याएनु भएको छ । पत्रकारिता क्षेत्रबाट समाजको अपेक्षा राम्रो भएको बताउँदै सत्यतथ्य समाचार सम्प्रेषणमा जोड गर्न उहाँको अनुरोध छ । हतारको पत्रकारिताले समाज भड्किएको गुनासो उहाँले गर्नुभएको छ ।

सोमबारको सेसनमा एकराज पाठकले पत्रकारले विषयवस्तुको छनोट गर्नु पनि एक प्रकारको कला भएको उल्लेख गर्नुभयो । सिनेमामा जस्तो पत्रकारितामा पनि विषयवस्तु नै हिरो हुनुपर्ने भनाई उहाँको छ । विषयवस्तुले पत्रकारितालाई दरिलो बनाउने उहाँले बताउनुभयो । विषयवस्तु पहिचानका लागि सुचनाको स्रोत संरक्षणमा लाग्नुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनु भएको छ । पाठकमाझ पुर्याउन पत्रकारमा लेखन कला अति आवश्यक रहेको तर्क उहाँको छ ।

नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले कास्कीले विषयवस्तु लेखन सम्बन्धि तालिम राखेर राम्रो काम गरेको बताउनुभयो । पत्रकारिता क्षेत्रमा शुद्धिकरणको आवश्यकता देखेर नै महासंघको शुद्धिकरण अभियान अनुसार गण्डकी अगाडि बढेको भनाई उहाँको छ । मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले कास्कीका पत्रकारबाट आएको विषयवस्तु लेखन सम्बन्धि तालिमको मागअनुसार कार्यक्रम तय भएको बताउनुभयो । उहाँले भन्नुभयो्,‘कास्कीको पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन महासंघ क्रियाशिल छ । विषयवस्तु छनोट पत्रकारितामा आजको आवश्यकता हो । सोहि अनुरुप नै तालिमको आयोजना गरिएको हो ।’ तालिमले पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुगेको विश्वास उहाँले लिनुभएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपसभापति गंगाधर पराजुलीले पत्रकारिता क्षेत्रमा मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । पछिल्लो समय पत्रकारिता क्षेत्र धरासायी भएको उल्लेख गर्दै पत्रकार आर्थिक उपार्जनका लागि परदेशिन बाध्य भएको तर्क उहाँको छ । यसमा महासंघ गम्भिर भएर लाग्नुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाको संयोजनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपसभापति रमेश पौडेल, प्रशिक्षार्थी पत्रकारद्वय तिलक पुन पुर्जा र ज्योती हमालले अनुभव सोटेका थिए । यसका अलवा तालिम अवधिभर पोखराका क्रियाशिल पत्रकार भरत कोइराला (आदर्श समाज), केशव शरण लामिछाने (अन्नपूर्ण पोष्ट), बासुदेव मिश्र (नेपाल खबर), दिपक परियार (कान्तिपूर), पुण्य पौडेल (पोखरा पत्र), कमल पौडेल अथक (सराङ्गकोट) लगायतले पोखरामा पत्रकारिता गरिरहँदाको अनुभव प्रस्तुत गरेका थिए । तालिममा पोखरामा पत्रकारिता क्षेत्रमा लागिरहेका प्रशिक्षार्थीहरुको सहभागिता थियो ।