श्रमिक र रोजगारदाताहरूलाई जोड्ने योजनासहित गण्डकी प्रदेशमा श्रमाधान रोजगार मेला सोमबारदेखि सुरु भएको छ।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय–गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको सहआयोजना र होटेल संघ नेपाल (हान)को संयोजनमा सुरु मेला मंगलबारसम्म चल्नेछ।

आन्तरिक रोजगारी प्रवर्द्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरूलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीको लागि अनुकूल वातावरण सिर्जना गने उद्देश्यसहित नेपाल सरकारले देशका सबै प्रदेशमा श्रमाधान रोजगार मेला गर्ने कार्यक्रमअनुसार पोखरामा गण्डकी प्रदेशस्तरीय मेला सुरु भएको हो।

पोखरामा सुरु मेलामा सरकारी सात र निजी क्षेत्रका ३४ गरी ४१ वटा विभिन्न प्रकारका बुथ तथा स्टलहरू रहेका छन्। मेलामा बायोडाटा निर्माण सिकाइ, विभिन्न रोजगारदातासँग सम्बन्धित, वैदेशिक रोजगार, कल सेन्टरलगायतका स्टल तथा बुथहरू छन्।

मेलामा श्रम र रोजगारसँग सम्बन्धित विषयमा रहेर कार्यशाला गोष्ठी, अन्तर्क्रिया र छलफल हुनेछ। मेलाको पहिलो दिन श्रम आप्रवासनः कानुनी प्रक्रिया र मनेसामाजिक प्रभाव, यातायात रोजगारीका चुनौती र अवसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा छलफल तथा अन्तर्क्रिया सम्पन्न भयो।

मेलाको दोस्रो दिन मंगलबार शिक्षा र रोजगारी बिचको सेतुः कार्यस्थलमा सिकाइको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो र श्रम कानुनका अफ्ठ्याराहरू र फुकाउनुपर्ने गाँठो विषयमा छलफल तथा अन्तर्क्रिया हुनेछ।

पोखरामा सुरु मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले संयुक्त रूपमा गरेका थिए। उद्घाटनपछि मन्त्री अर्यालले हाल देशमा रोजगारी खोजेर हिँड्ने युवाहरूको जमात ठूलो रहेकाले रोजगारीको खोजीमा रहेका र रोजगार दिन चाहने संस्थाहरूको मिलनविन्दुको रूपमा आफूले मेलालाई लिएको बताए।