पोखरा ।  नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित ‘प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान’बाट पोखराका दुई पत्रकार सम्मानित हुनुभएको छ । आइतबार यहाँ आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार दीपेन्द्र श्रेष्ठ र दिवङ्गत पत्रकार त्रिभुवन पौडेललाई मरणोपरान्त उक्त सम्मान प्रदान गर्नुभएको हो ।

प्रधानमन्त्रीले पत्रकार श्रेष्ठ र दिवङ्गत पौडेलका परिवारजनलाई नगद रु. एक लाख एक हजार एक सय ११ सहित सम्मानपत्र र दोसल्ला प्रदान गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्रीले पत्रकार द्वयले पोखराबाट नेपाली पत्रकारिता र सामाजिक क्षेत्रमा पु¥याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो । उहाँले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति सरकार सँधै प्रतिबद्ध रहेको बताउनुभयो ।
“वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिबद्ध छ,” प्रधानमन्त्रीले भन्नुभयो, “आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।”
प्रधानमन्त्रीले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण गर्ने सरकारको नीति रहेको बताउनुभएको छ । वर्तमान विश्वमा सूचना प्रविधि निर्णायक शक्तिका रुपमा देखा परेको प्रधानमन्त्रीको भनाइ छ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सरकारले मिडिया कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । राज्यको उपेक्षामा मिडिया क्षेत्र परेको भन्दै उहाँले आमसञ्चार प्रतिष्ठान गठन गर्न गरिएको पटकपटकको माग सुनुवाई नभएको उहाँको भनाइ छ ।
महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले उक्त सम्मान कोष विसं २०५२ सालमा स्थापना भएको जानकारी दिदै गण्डकी प्रदेशको आमसंचार बिधेयक पास भईसकेको र अब छिट्टै कार्वान्वयनमा लैजानुपर्ने बताउनुभयो। दिवङ्गत प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेको स्मृतिमा उहाँका परिवारजनले पुरस्कारको अक्षयकोष स्थापना गरेको हुन् । विसं २०७९ को उक्त सम्मान पाउनुहुने श्रेष्ठ नेपाल पत्रकार महासङ्घ कास्की शाखाका पूर्वअध्यक्ष एवं एभरेष्ट एमएएमका कार्यकारी निर्देशक हुनुहुन्छ । विसं २०८० को सम्मान प्राप्त गर्नुहुने दिवङ्गत पौडेल महासङ्घको गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष हुनुहुन्छ । महासङ्घका केन्द्रीयसमेत रहनुभएका पौडेलको गत वर्ष विमान दुर्घटनामा परि निधन भएको थियो ।