लुम्बिनी । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलन ९ बुँदे घोषणा पत्र जारी गर्दै समापन भएको छ । लुम्बिनी प्रदेशमा चैत्र १६ र १७ गते भएको केन्द्रीय समितिको बैठक र सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै ९ बुँदे घोषणा पत्र जारी गरेको हो ।

उक्त सम्मेलनले पत्रकारितामा लामो समयदेखि क्रियाशील नभएका र अन्य पेशा–व्यवसायमा लागेकाहरुलाई पत्रकार महासंघको सदस्यता परित्याग गर्न आग्रह गरेको केन्द्रीय महासचिव रोशन पुरीले जानकारी दिएका छन् । उनका अनुसार त्यसरी सदस्यता त्याग गरेको लिखित जानकारी गराउने सदस्यलाई सम्मानसहित विदाई गर्ने पनि बताएका छन् ।

महासंघद्धारा जारी ९ बुँदे घोषण पत्रमा आउँदो महाधिवेशन भन्दा ६ महिना अगाडिसम्म कायम सदस्यले मात्रै महासंघको आउँदो चुनावमा मतदानका लागि भाग लिन पाउने व्यवस्थालाई कार्यान्वयन गर्ने प्रतिवद्धता पनि गरेको छ ।

नागरिक अधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक सुनिश्चितासहितको प्रेसमैत्री कानून निर्माणका लागि समेत उक्त सम्मेलनमार्फत माग गरेको छ । श्रमजीवी पत्रकार ऐनलगायतका विद्यमान कानूनअनुसारका न्यूनतम पारिश्रमिक, सेवा सुविधालगायत प्राप्तिबाट श्रमजीवी पत्रकारहरू बञ्चित भइरहँदा यसको पूर्ण कार्यान्वयन गर्न सरकार र सम्बन्धित सञ्चार गृहलाई आग्रह गरेको छ ।

सञ्चारमाध्यम दिगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि समानुपातिक विज्ञापन प्रणालीलाई तत्काल लागू गर्न माग गर्दै स्थानीय सरकार मातहतको निकायको विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई र प्रदेश सरकार मातहतको विज्ञापनलाई प्रदेश अन्तर्गतका सञ्चारमाध्यममा दिनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दै उक्त सम्मेलनले पेशागत दक्षता अभिवृद्धि गर्न तालिम तथा वृत्ति विकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाउने घोषणा पनि गरेको महासचिव पुरीले बताएका छन् ।