गुल्मी- गुल्मीमा सामुहिक धान रोपेर २०औं धान दिवस मनाइएको छ । गुल्मीदरबार गाउँपालिकाको आयोजना र कृषि ज्ञानकेन्द्र गुल्मीको समन्वयमा सामुहिक धान रोपेर दिवस मनाइएको हो ।

जिल्लाको गुल्मीदरबार गाउँपालिकाको वडानम्बर ५ को खर्ज्याङमा राखिएको कार्यक्रममा कृषकदेखि पालिका प्रमुख, ज्ञानकेन्द्र कार्यालयका प्रमुख लगायत विभिन्न क्षेत्रका सहभागीले सामुहिक धान रोपेको थिए । त्यस्तै इस्मा गाउँपालिकाले पनि वडानम्बर १ छिनुवामा सामुहिक धान रोपेर दिवस मनाएको छ ।

कृषकको समस्यामा पालिका सँगै छ भन्ने सन्देश दिन र धान उत्पादन बढाउन, धान खेती प्रति प्रोत्साहन गर्न कृषकसँगै सामुहिक धान रोपाइँ कार्यक्रम दिवस मनाइएको इस्मा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो ।

शहरीकरण लगायत विभिन्न कारणले उब्जाउयोग्य धेरै जग्गाजमिन बाझिने क्रममा छ । उब्जाउयोग्य जमिन बाँझो राख्ने क्रमको अत्य गर्न र कृषकलाइ धान खेती उत्पादनमा प्रोत्साहन गर्न सामुहिक धान रोप्ने कार्यक्रम राखिएको गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताउनुभयो ।

अहिले कृषक काम गर्ने जनशक्तिको अभाव, लागत बढी उत्पादन कम र मौसम प्रतिकुलताले गर्दा समस्यामा छन् । कृषकलाई धान खेतीमा आकर्षण गराउने र उत्पादन बढाउने उदेश्यले धान दिवसको अवसरमा कृषकसँगै सामुहिक धानरोपण कार्यक्रम राखिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

यसवर्ष खडेरीका कारणले ढिलो गरि रोपाइँ सुरु भएको छ । जिल्लामा असारको तेस्रो साता लाग्दै गर्दा ९ प्रतिशत रोपाइँ भएको छ । खडेरीले धानको व्याड राख्न ढिलाइ भएको कारणले रोपाइँ प्रतिशत कम भएको भण्डारीले बताउनुभयो ।