पोखरा । चलचित्र पत्रकार संघ कास्कीले आफ्नो २० औं स्थापना दिवस मनाएको छ । शुक्रबार पैदलयात्रा एवम अनुभव आदानप्रदानको कार्यक्रम आयोजना गरि संघले स्थापना दिवस मनाएको हो ।
पोखराको ड्यामसाइड देखि रानीवन हुँदै पुम्दिकोट सम्म पैदल यात्रा गरिएको थियो । सो अवसरमा सहभागी पत्रकारले आफ्नो अनुभव साटेका छन ।

संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संघ स्थापना गर्दाको आरोह अवरोहका विषयमा सुनाउनुभयो । तत्कालिन समयमा पोखरामा रहेर चलचित्र पत्रकारिता गर्न सकस भएको भनाइ उहाँको थियो । उहाँले बीट पत्रकारितामा मात्रै लागेर बाच्न सक्ने आधार खडा नभएको बताउदैं चलचित्र पत्रकारिता लाई बढ्वा दिन यहाँका नाम चलेका मिडियाले स्थान दिनुपर्ने विषयलाई औंल्याउनुभएको छ ।

निवर्तमान अध्यक्ष अरुण गिरीले चलचित्र पत्रकारिता हिजो भन्दा आज बढ्दै गएको बताउदैं हिजो सिमित स्रोत साधनका बीच पत्रकारिता गर्नुपर्ने बाध्यता थियो भने आज चलचित्रका विषयवस्तुको क्षेत्र समेत फराकिलो हुँदै गएको सुनाउनुभयो । पोखराको पर्यटनलाई चलचित्र पत्रकारिता माध्यम पनि बढवा दिन सकिने अभिव्यक्ती उहाँको थियो । गिरीले संघले चलचित्र पत्रकारहरुलाई संरक्षण र प्रवर्द्धन गर्न विशेष कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । अझै पनि काठमाडौं बाहिरका शहरलाई मोफसल भन्ने गरिएको र यसलाई चिर्ने गरि काम गर्नुपर्ने अभिभारा हाम्रो कांधमा रहेको भनाई उहाँको छ ।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले अग्रजले स्थापना गरेको संघको शाख जोगाउने गरि वर्तमान कार्यसमितिले काम गरिरहेको जनाउदै विगतमा भएका कामहरुलाई निरन्तरता दिंदै थप रचनात्मक एवम प्रभावकारी कार्यक्रम संघले गर्ने बताउनुभयो । पोखरामा चलचित्र पत्रकारितालाई अझ क्रियाशील बनाउन संघ प्रतिबद्ध रहेको धारणा उहाँको छ ।

कार्यक्रममा उपस्तिथ सबै पत्रकारले आफ्नो पत्रकारिता जीवनको अनुभव साटेका थिए । पैदलयात्रा पछिको अनुभव आदानप्रदान कार्यक्रम पोखरा २२ पुम्दिभुम्दी कोटको इको भिलेजमा भएको थियो ।