पोखरा । नेपालका चर्चित विभिन्न १० कम्पनीका करिब २ दर्जन ब्रान्डका जुत्ता, चप्पलको साझा बिक्री कक्ष शुक्रबारदेखि पोखरामा ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ सञ्चालनमा आएको छ ।
१० कम्पनीले साझा रुपमा खोलेको साझा शोरुमको उद्घाटन गण्डकी प्रदेशका कृषि, भूमिव्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गर्नुभएको हो ।
१० कम्पनीको संयुक्त शोरुममा शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका हजारौं उत्पादन एकै छानामुनि खरिद गर्न सकिने सेन्टरले जनाएको छ ।

सेन्टर करिब एक करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको हो । शोरुमको उद्घाटन गर्दै मन्त्री जिसीले नेपालमा उद्योग विकासका लागि दक्ष जनशक्तिको अभाव रहेको सुनाउनुभयो । उद्योग तथा व्यवसाय सुरु गरे पनि चर्को राजनीतिको मारमा पर्ने गरेको उहाँको भनाइ थियो ।

नेपाल फुटवेयर एसोसियनका उपाध्यक्ष रुद्रनाथ न्यौपानेले नेपाली बजारलाई आवश्यक पर्ने शतप्रतिशत जुत्ता, चप्पल उत्पादन गर्न सक्ने गरी नेपाली उद्योग तयार भइसकेका बताउनुभयो । ‘नेपालमा जडित औजार, मेसिन र पूर्वाधारका हिसाबले लगभग १२, १३ करोड जोडीभन्दा बढी जुत्ताचप्पल उत्पादन गर्न सक्ने हाम्रो क्षमता छ,’ उहाँले भन्नुभयो ।

न्यौपानेले नेपालमा वार्षिक करिब ११ करोड जोडी जुत्ताचप्पलको खपत हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘त्यसमध्ये ६५ प्रतिशत नेपाली जुत्ताचप्पलको उत्पादन खपत भइराखेको छ । अब त्यो ६५ लाई सय प्रतिशत पु¥याउन उत्पादनमात्रै नभएर बिक्रीवितरण च्यानललाई पनि व्यवस्थित बनाउन लागिरहेका छौं ।’

उत्पादक र उपभोक्ताबीच बिक्री च्यानल लामो हुँदा उत्पादकको भन्दा बढी बिचौलियाको हालीमुहाली हुँदै आएको न्यौपानेको भनाइ छ । सोही परम्परालाई भत्काउँदै उत्पादकलाई सिधै उपभोक्तासम्म जोड्न मिल्ने गरी बिजनेस सेन्टरको अवधारणा ल्याइएको उनले जानकारी दिनुभयो ।

फुटवेयर बिजनेस सेन्टरका अर्का उपाध्यक्ष सुरज बञ्जाडेले पर्यटनका हिसाबले गण्डकी अग्रणी स्थानमा रहेको र अब उद्योगमा पनि अग्रणीस्थानमा ल्याउने आफूहरुको योजना रहेको सुनाउनुभयो । ‘यो सेन्टरले हामीलाई मात्रै होइन, पोखराका आसपासका उद्यमी जो, जुत्ताचप्पलमा लगानी गर्न चाहनुहुन्छ, उहाँहरुलाई पनि सहयोग हुने विश्वास लिएका छौं,’ उहाँले भन्नुभयो ।

फुटवेयर बिजनसेस सेन्टर उद्घाटनका अवसरमा विशेष छूटको पनि व्यवस्था गरिएको छ । साउन महिनाभरि सेन्टरमा भएका हरेक कम्पनीका उत्पादनमा १५ प्रतिशतसम्म छूटको व्यवस्था गरिएको बञ्जाडेले जानकारी दिनुभयो