पोखरा । विश्व आदिवासी दिवसको पुर्वसन्ध्यामा यहि साउन २३ गते मंगलबार पोखरामा रहेका आदिवासी जनजाति संघसंस्थाहरू बिच अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको सहकार्य रहने सो कार्यक्रमको आयोजना फोनिज गण्डकीले गर्ने बुधबार फोनिज कास्कीले राखेको बैठकले जानकारी गराएको छ ।

पोखरामा रहेका जनजाति आदिवासी संघसंस्थासँग परिचयात्मक सहित बस्तु स्थितिबारे जानकारी लिने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरूङले बताउनुभयो ।

त्यस्तै उक्त बैठकले रिक्त रहेको कोषाध्यक्ष पदमा फोनिज कास्कीकी कार्यसमिति सदस्य प्राश्ना मानन्धरलाई मनोनित गरेको छ भने रिक्त रहेको कार्यसमिति सदस्यमा फोनिज कास्कीकी साधारण सदस्य वर्षा गुरूङलाई मनोनित गरेको फोनिज कास्कीका सचिव सुशील श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले नेवाःपत्रकार पुचःकास्कीको दोस्रो अधिवेशनबाट अध्यक्ष अनिशा श्रेष्ठको नेतृत्वमा चयन भएका पदाधिकारी एवं कार्यसमिति सदस्यहरूलाई अन्तरक्रिया कार्यक्रमका बिच बधाई ज्ञापन सहित सम्मान गर्ने निर्णय समेत गरेको छ ।