पोखरा । पोखरामा पछिल्लो समय आँखा पाक्ने रोग (एडिनो भाइरल कन्जङटिवाइटिस) फैलिरहेको छ । यो रोग फैलिएसँगै यसका बिरामीहरु पनि दिनप्रतिदिन बढ्दो क्रममा छन् । यो रोग आफैमा संक्रमित रोग हो ।

विशेषगरी यस रोगको प्रभाव विद्यालयहरुमा बढी मात्रामा देखा परेका छन् । यसको संक्रमण चक्रलाई रोक्नको लागि पोखरा महानगरपालिकाले हिजो एक सूचना जारी गर्दै आजबाट तीन दिनसम्मका लागि महानगरभित्रका सम्पूर्ण विद्यालयहरु विदा गर्ने निर्णय गरेको छ ।

महानगरले जारी गरेको सूचनामा, पछिल्लो समय पोखरामा आखाँ पाक्ने रोगले आक्रान्त पारिरहेको र उक्त रोगको प्रभाव विद्यालयहरुमा समेत देखा परेको हुदाँ यसलाई रोक्न सोमबार महानरपालिकाका प्रमुखको संयोजकत्वमा सरोकारवालाहरुसँग बैठक बसि श्रावण २४ देखि २६ गतेसम्म तीन दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक, संस्थागत र मन्टेश्वरि स्कुलहरु विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।

सोही निर्णय अनुरुप महानगरभित्रका सम्पूर्ण विद्यालयहरुलाई तीन दिनका लागि बन्द गर्न उक्त सूचनामार्फत अनुरोध समेत गरको छ ।