काठमाडौं । माननीय राष्ट्रिय सुरक्षा सल्लाहकारज्यू, पूर्व सभासदज्यू, नेपाल सरकारका मुख्य सचिवज्यू, प्रदेश सभाका माननीय सदस्यज्यू, संवैधानिक निकायका सदस्य तथा माननीय आयुक्तज्यूहरू, गृह सचिवज्यू, नेपाल प्रहरीका प्रहरी महानिरीक्षकज्यू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखज्यू, अवकाश प्राप्त प्रहरी महानिरीक्षकज्यूहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्षज्यू, Chief of Standing Police Capacity, Commissioner Ms. Ann-Marie Orler, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू तथा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकज्यूहरू, मन्त्रालयका सहसचिवज्यूहरू, पूर्व गृह सचिवज्यू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, सेवा निवृत प्रहरी कर्मचारीहरू, सञ्चारकर्मी मित्रहरू, सकल दर्जाका प्रहरी कर्मचारीहरू, उपस्थित सम्पूर्ण महानुभावहरू। सबैभन्दा पहिला नेपाल प्रहरीका सम्पूर्ण प्रहरी कर्मचारीहरूमा ६८औँ प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
यस संगठनमा हाल आबद्ध र कार्यरत तथा यस संगठनबाट सेवा निवृत्त हुनुभएका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई देश र नागरिक सुरक्षाका खातिर यहाँहरूले बगाउनुभएको पसिना, रगत र तिलाञ्जलि दिनुभएको व्यक्तिगत तथा पारिवारिक समयका लागि नेपाल सरकारका तर्फबाट आभारसहित धन्यवाद व्यक्त गर्दछु। प्रहरी दिवस, नेपाल प्रहरीको मात्र नभई हामी सम्पूर्ण देशबासीहरूको समेत साझा उत्सव र दिवस हो। आजको दिन नेपाल प्रहरीले हाम्रो समाजमा पुर्याएको योगदान, अहोरात्र प्रदान गरेको सुरक्षा, आम नागरिकलाई समस्याको समयमा दिएको काँध र मातृभूमिको लागि तर्पण गरेको बलिदान, चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रपतिको स्वयंसेवी भावनाद्वारा प्रेरित भई गरेको कर्तव्यनिष्ठताप्रति सम्मान प्रकट गर्ने राष्ट्रिय अवसरसमेत हो।
प्रहरी दिवसको उपलक्ष्यमा यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भई नेपाल प्रहरी परिवारमाझ यहाँहरूका विचार र भावना सुन्ने/बुझ्ने तथा आफ्ना विचारहरू राख्ने अवसर पाउँदा मलाई खुशी लागेको छ। नेपाल प्रहरीको गौरवशाली इतिहासमा यस गरिमामय संगठनले धेरै बाधा, अवरोध र चुनौतीहरूको सामना र परास्त गरेर आजको अवस्थामा आइपुगेको हो। यस अवसरमा गौरवमय इतिहास र परम्परालाई कायम राख्दै थप जिम्मेवारीबोध र कार्यसम्पादनका निम्तिसमेत सिंगो संगठन परिवारमा हार्दिक अपील गर्दछु।
प्रहरी दिवसको यसै अवसरमा म वीर अमर प्रहरीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्यपालनका क्रममा घाइते हुनुभएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभ र दीर्घायुको कामना गर्दछु। आम नागरिकका हरेक सरोकार र राज्यका हरेक समस्यामा नेपाल प्रहरीले प्रथम पंक्तिमा रहेर ती सरोकार र समस्याको सम्बोधन र समाधान गरेको छ। आम नागरिकले दुखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको छ, यो आफैमा महत्वपूर्ण कुरा हो।
प्रहरी समाजको एउटा यस्तो अंग हो, जो समाज सँगसँगै समयसापेक्ष परिवर्तन हुँदै जान्छ र जानु पनि पर्दछ। नेपाल प्रहरीले पनि आफू र आफ्नो सेवा प्रवाहलाई समय सापेक्ष आधुनिकीकरण गर्दै अहिलेको अवस्थामा एउटा आधुनिक, दक्ष, जिम्मेवार अनि राष्ट्रिय साथै अन्तर्राष्ट्रिय जगतमा समेत प्रभावशाली प्रहरी संगठनको रूपमा स्थापित हुन सफल भएको छ। सीमित साधनस्रोत, जनशक्ति र अनेकौं चुनौतीका बीच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा जुन ख्याती प्राप्त गरेको छ, यो हाम्रा लागि महत्वपूर्ण पुँजीसमेत हो।
यो संगठनको क्षमता र दक्षतामा हुने अभिवृद्धिसँग सरकारको सफलता पनि समेटिने हुनाले यस संगठनको समय सापेक्ष आधुनिकीकरणका लागि म र मेरो नेतृत्वमा रहेको सरकार अत्यन्त गम्भीर छ। यसै यथार्थलाई मध्यनजर गर्दै नेपाल प्रहरीको वृत्ति विकास, परिचालन र समन्वयमा नेपाल सरकारले वैज्ञानिक विधि र पद्धतिको पालना गरेको र यसले संगठनभित्र सबैले समान न्याय एवं आत्मसम्मानको प्रत्याभूत गरेको कुरा सिंगो देशले अनुभूत गरेको छ। नेपाल सरकार नेपाल प्रहरीका विभिन्न श्रेणीका अधिृकतदेखि जवानसम्म सबैको साझा अभिभावक हो, सबैलाई समान र न्यायपूर्ण व्यवहार गर्दछ भन्ने कुरा व्यवहारबाटै प्रमाणित गरिएको छ।
यसले संगठनमा सुदृढ एकता कायम गर्न, प्रहरी कर्मचारीको मनोबल उकास्न तथा संगठनभित्र सबैले आफ्नो जीवन देख्ने संस्कारको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ। तसर्थ, सरकारले लिएको यस नीतिको गम्भीरतालाई ग्रहण गरी सोहीअनुरूप सिंगो संगठनको वृत्ति विकास र परिचालन व्यवस्थित तुल्याउनसमेत यसै कार्यक्रममार्फत् महानिरीक्षकज्यूलाई निर्देशित गर्दछु। समाजमा बदलिँदो आपराधिक परिवेश, विश्वव्यापीकरणसँगै फैलिएको अन्तर्राष्ट्रिय अपराधको सञ्जाल, सूचना प्रविधिले ल्याएको विकास र यसले निम्त्याएको विनाश, अनुशासनहीनता सबै पक्षलाई मध्यनजर गरी नेपाल प्रहरीले आफ्नो स्वरूप र सेवा प्रवाहमा सोहीअनुकूल विकास र परिवर्तन गर्दै गएको देख्दा गर्व र खुशी लागेको छ।
यस सन्दर्भमा सूचना-प्रविधिको घातांकीय विकाससँगै अपराधका नयाँ-नयाँ आयामहरू विकसित भइरहेको परिप्रेक्ष्यलाई दृष्टिगत गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरीले आगामी दिनमा प्रविधिमैत्री संयन्त्र र विधिको भरपूर उपयोग गर्ने मैले विश्वास लिएको छु। बदलिएको परिस्थितिअनुरूप आफूलाई रूपान्तरित र परिमार्जन गरेर मात्र हरेक संस्था, नेतृत्व र व्यक्तिले आफ्नो नेतृत्व क्षमता राम्रोसँग प्रमाणित गर्न सक्छ भन्ने एउटा जीवन्त उदाहरण नेपाल प्रहरी हो। हरेक क्रान्तिपछिको बदलिएको राजनीतिक परिवेशमा नेपाल प्रहरीले परिवर्तनलाई अँगाल्न सक्ने क्षमता प्रदर्शन गरेको प्रत्यक्ष हेर्न र अनुभूत गर्न पाउँदा मैले गौरवको महशुस गरेको छु।
साथै नेपाल प्रहरीको छविमाथि प्रश्न उठ्ने कुनै पनि प्रकारका अवान्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी नेतृत्व पूर्णतः सक्षम रहने विश्वास लिएको छु। नेपालको संविधान बमोजिम, नेपाल प्रहरीले संघीय संरचनामा जान रूपान्तरणको तयारी गरेको कार्यहरू समेत महत्वपूर्ण छन्। भविष्यमा संघीय संरचनामा आउन सक्ने अवसर, चुनौती र संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले सबै प्रदेशहरूमा प्रदेश प्रहरी कार्यालयहरूसँग सहज, सुमधुर र प्रभावकारी सुपरीवेक्षण र समन्वयको कार्य गर्नेछ भन्ने विश्वाससमेत लिएको छु। नेपाल प्रहरीले मानव अधिकार संरक्षण तथा प्रवर्धन गर्न, लैंगिक हिंसा न्युनिकरण गर्न, वाक् तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न, महिला बालबालिका तथा ज्येष्ठ नागरिकको सेवा एवं सुरक्षा गर्न र सामुदायिक समन्वय गरी आधुनिक प्रहरीका सिद्धान्तहरू अवलम्बन गर्न कुनै कसरत बाँकी राखेको छैन, भविष्यमा समेत राख्ने छैन।
एउटा व्यावसायिक र प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न नेपाल प्रहरीले चालेका कदमहरू र यसमा साथ दिने मन्त्रालयहरू, अन्तर्राष्ट्रिय संघसंस्थाहरू, नागरिक समाज र बुद्धिजीवीहरूप्रति समेत आभार प्रकट गर्दछु। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघमार्फत् प्रहरी कर्मचारीहरू पठाएर विश्व शान्तिमा समेत ठूलो योगदान पुर्याएको छ। आगामी दिनमा विश्वशान्तिका निम्ति नेपाल प्रहरी लगायतका देशका सुरक्षा अंगहरूको उपस्थिति र भूमिका बढाउने सन्दर्भमा सरकारले आवश्यक कुटनीतिक पहल लिनेसमेत यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
यस अवसरमा विश्व प्रहरी संगठनको रूपमा रहेको INTERPOL को १००औँ सदस्यको रूपमा नेपाल प्रहरीले गरेको उल्लेखनीय कार्यहरू र अन्तर्राष्ट्रिय प्रहरीहरूसँग गर्दै आएको समन्वयको प्रशंसा गर्दछु। आजको यस समारोहमा नेपाल प्रहरीबाट प्रदर्शन भएका कवाज, झाँकी तथा डेमोन्स्ट्रेशनहरूसमेत रोचक र नेपाल प्रहरीको इतिहासदेखि कार्य प्रकृतिसम्म झल्कने किसिमको पाएँ। विविधताबीचको एकता हाम्रो राष्ट्रको गौरव हो। यसको सम्मान, संरक्षण अनि सम्बर्धन गर्दै ठूलो र लामो राजनीतिक परिवर्तनपश्चात् प्राप्त उपलब्धीहरूको जगेर्ना, आम नागरिकका संविधानप्रदत्त मौलिक हक तथा अधिकारहरूको प्रचलनको निर्धक्क वातावरण सिर्जना गर्न नेपाल प्रहरीका अधिकृत तथा जवानहरूलाई निडर रही कार्यक्षेत्रमा खटिरहनसमेत निर्देशित गर्दछु।
अन्त्यमा, ६८औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी परिवारप्रति फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु। कर्तव्यपालनको सिलसिलामा जीवन गुमाउनुभएका सम्पूर्ण ‘अमर प्रहरी’हरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु। साथै नेपालीहरूमा महान् पर्वहरू बडादशैं, दीपावली, नेपाल संवत्, छठ लगायतका अवसरमा नेपाल प्रहरी परिवारका साथै स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं समृद्धिको शुभकामना व्यक्त गर्दै विदा हुन्छु। धन्यवाद।