पोखरा । नेपाल भ्रमण रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससंग पोखरामा पत्रकार सम्मेलन सम्पन्न भएको छ । पोखरेलीले प्रदान गरेको न्यानो आतिथ्यता प्रति आभार व्यक्त गर्दै, उहाँले नेपालमा रहेका अद्भुत हिमाल र हिमनदीहरू जोगाउनुपर्ने बताउनुभयो । जलवायु परिवर्तनका कारण समस्यामा रहेका नेपाल लगायतका अन्य देशहरूलाई समर्थन गर्न आवश्यक छ, उहाँले बताउनुभयो ।

जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको भन्दै उहाँले यसबाट पीडित समुदायका लागि विश्वस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्ने बताए । ‘जलवायु परिवर्तनका कारण धेरै भागहरू भूस्खलन भएका छन् । धेरै समुदायमा जुन गहिरो रूपमा परेको नकारात्मक असर छ यसलाई मैले अन्तर्राष्ट्रिय समुदायमा अपिल गर्नेछु,।’ उहाँले पत्रकार सम्मेलनमा बोल्दै थप्नुभयो ‘पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकूलनको लागि धेरै कोषहरू पनि छन् । यी कोषहरू क्षति कम गर्न र पीडित जनताको फाइदाका लागि बनाइएका हुन् । त्यसको उपयोग हुनुपर्छ ।’


उहाँले जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो । ‘मैले भ्रमण गरेका र देखेका ठाउँहरूमा मान्छेहरू जलवायु परिवर्तनको कारणले धेरै पीडामा छन्,’ गुटरेसले थप्नुभयो, ‘वास्तवमै हिमाली क्षेत्रको अवस्था जटिल छ ।’

पोखराको पुरानो विमानस्थलमा गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी लगायत पत्रकारहरुको टोली स्वागत गरेको थियो ।

उहाँले पोखरामा रहँदा पुम्दीकोट स्थित विशाल शिव मन्दिरको अवलोकन गर्नुका साथै फेवातालमा डुङ्गा सयर समेत गर्नुभयो । उहाँको भ्रमण जलवायु परिवर्तन र हिमालमा देखिएको असरमा केन्द्रित थियो ।