कलाकार रेखा थापाले राप्रपाको अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनलाई भोट माग्‍न थालेकी छिन् ।

मंसिर २९ गते लिङ्देनले काठमाडौंको जमलको एक होटलमा आफ्नो उम्मेदवारी घोषणा गर्दा कलाकार रेखा थापा पनि सँगै थिइन् । लामो समयदेखि थापा कुन पार्टीमा छिन् भनेर चासो बढिरहेको समयमा उम्मेदवारी घोषणा कार्यक्रममा उपस्थित भएपछि थापा राप्रपामा रहेको खुलेको थियो ।

थापाले सामाजिक सञ्जालमार्फत लिङ्देनलाई अध्यक्षमा जिताउनको लागि भोट मागेकी हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन प्रतिनिधि समेत रहेकी थापाले परिवर्तनको पक्षमा राप्रपा, राप्रपामा अब नयाँ नेतृत्वको लागि अध्यक्षमा राजेन्द्र लिङ्देनलाई बिजयी गरा‌‍औं भन्दै भोट मागेकी हुन् ।

नायिका रेखा २०७३ सालमा माओवादी छोडेर राप्रपा प्रवेश गरेकी थिइन् । पार्टीमा आएको विभाजनपछि उनी २०७४ सालमा कमल थापाको साथ छोडेर पशुपति शम्शेर राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिकमा लागिन् ।

अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई टक्कर दिँदै युवा नेताहरूको दरिलो समर्थनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । धमलशमशेर राणासहित नेताहरूको समर्थन प्राप्त गरेको लिङ्देनलाई युवाहरूको समर्थन रहेको बताइन्छ । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।

२०७४ सालमा सम्पन्न भएको प्रतिनिधि सभाको चुनावमा राप्रपाले मुलुकभरबाट एक सिट मात्र जित हासिल गरेको थियो । राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर–३ बाट विजयी हुँदै राप्रपाको इज्जत जोगाएका हुन् ।

लिङ्देनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गरेर थिए । झापा–३ बाहेक राप्रपाले कहीँ पनि जित निकाल्न सकेन । मकवानपुर–१ बाट राप्रपाका अध्यक्ष कमल थापा समेत पराजित भएका थिए ।