‘चपली हाइट ३’का निर्माता अर्जुनकुमार र यही फिल्मकी नायिका स्वस्तिमा खड्काबिच ‘शीत युद्ध’ चलिरहेको कुरा फिल्म वृत्तका लागि नौलो होइन।

अर्जुनकुमारले त फिल्मका दुई हिरोइन सु पुष्पा भट्ट र स्वस्तिमा खड्कासँग आउने फिल्महरूमा झुक्किएर पनि काम नगर्ने बताउँदै आएका छन्।

एउटा टेलिभिजन अन्तर्वार्तामा उनले आफू स्वस्तिमासँग काम नै नगर्ने भनेर ठोकुवा नै गरे । फिल्ममा काम गर्ने समयमा एकअर्काको प्रशंसा गरेर नथाक्ने निर्माता र कलाकारहरू फिल्म रिलिज हुने समयमा भने एक अर्काको दुस्मन भइसक्छन् । स्वस्तिमा र अर्जुन कुमार बिच पनि त्यही कुरा लागु भयो ।

आगामी पुस २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमार र अभिनेत्री स्वस्तिमा खड्काबिचको झगडाको बारेमा स्वस्तिमा भने मौन नै छिन् किनभने उनले बुलबुलबाट पाएको मायालाई अझ बढाउने कोसिसमा छिन् ।

दसैँको समयमा यस्तै झगडाले गर्दा फिल्म हेर्न जम्मा ६ जना दर्शक आएको कुरा थाहा पाएकी स्वस्तिमा त्यो हालत नआओस् भन्ने चाहन्छिन् । ‘चपली हाइट ३’ रिलिजको सम्मुखमा छ । एकातिर साउथ फिल्म ‘पुष्पा’ र अर्कोतिर हलिउडको ठुलो फिल्म ‘स्पाई डर म्यान’ सँग कसरी भिड्ने भनेर सोच्नुपर्ने अवस्थामा निर्माता अर्जुन कुमार भने आफ्नै फिल्मकी अभिनेत्रीसँग भिडेर बसेका छन् ।

केही दिनअघि एक पत्रकार भेटघाट कार्यक्रममा पनि निर्माता कुमारले आफूलाई चित्त नबुझेको कुरा बोलेको र त्यही नै सत्य रहेको बताए । स्वस्तिमाले भने चित्त नबुझेको कुरा बोल्न पाइने छुट सबैलाई रहेको भन्दै यस विषयमा आफूले जवाफ दिन आवश्यक नरहेको बताएकी थिइन् । उनले निर्माता अर्जुन कुमारको अभिव्यक्तिलाई फिल्मको प्रचार गर्ने उपायको रूपमा अर्थ्याएकी छन् ।

आफ्नो चलचित्र प्रदर्शन हुने बेलामा यस्ता खबरहरू बाहिर आउनु सामान्य नै लाग्छन् । स्वस्तिमा र अर्जुनको झगडा पनि पब्लिसिटी स्टन्ट त होइन ?