पोखरा । वैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हल्काराको निर्माण टिमले चिठीमार्फत् शुभचिन्तकहरूलाई हलमा निम्तो दिएको छ ।
बुधबार हुने प्रिमियर शोमा पत्रकार, चलचित्रकर्मी तथा शुभचिन्तकलाई कलमले पत्र लेखेर निम्तो दिइएको हो ।

चिठी युगको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा हल्काराको भावनात्मक यात्रा प्रस्तुत गरिएको छ । विक्रम सापकोटाले निर्देशन गरेको फिल्मा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य अभिनय रहेको छ ।

फिल्मले अमेरिकाको प्रतिष्ठित वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा ३ विधामा अवार्ड समेत जितेको थियो । निर्माण टिमले हातले लेखिएको पत्रमार्फत् निम्तो दिने शैलीबारे सामाजिक सञ्जालमा चर्चासमेत भएको छ । आइतबार मात्रै राजधानीमा टिम ‘मुभी लभर्स’ले विशेष शो’को आयोजना गरेको थियो ।

‘मुभी लभर्स फिल्म स्क्रिनिङ’को परम्परालाई निरन्तरता दिँदै यसपालि बहुप्रतीक्षित चलचित्र ‘हल्कारा’को विशेष शो’को आयोजना गरेको थियो । विशेष शोपछि अधिकांश चलचित्रकर्मीहरुले चलचित्रको प्रशंसा गरेका थिए।