लस एन्जलस । अमेरिकी गायिका टेलर स्विफ्टले ‘भिडियो अफ द इयर’ जित्दै एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) को इतिहासमा सर्वाधिक सफल कलाकारको कीर्तिमान बनाएकी छन् ।
आइतबार आयोजित समारोहअघि स्विफ्ट ३० अवार्डसहित बियोन्सेसँग बराबरीमा थिइन् । सन् २०२५ मा सार्वजनिक उनको एल्बम ‘द लाइफ अफ अ शोगर्ल’मा समावेश गीत ‘द फेट अफ ओफेलिया’को म्युजिक भिडियोबाट उनले समारोहको प्रमुख अवार्ड ‘भिडियो अफ द इयर’ जितिन् ।
स्विफ्टले पहिलोपटक प्रदान गरिएको ‘आर्टिस्ट डाइरेक्टर’ सम्मान पनि प्राप्त गरिन् । आकर्षक र नाटकीय शैलीमा तयार पारिएको ‘ओफेलिया’ म्युजिक भिडियोको लेखन र निर्देशन स्विफ्ट स्वयंले गरेकी हुन् ।
उनले नयाँ अवार्ड ‘अल्टिमेट शोगर्ल’ भन्दै दिवंगत गायिका डली पार्टनप्रति समर्पित गरिन् । स्विफ्टले भनिन्, ‘मलाई लाग्छ, केही समयका लागि डली पार्टनसँग एउटै पृथ्वीमा रहन पाउनु हामी सबैका लागि निकै भाग्यको कुरा थियो ।’
३६ वर्षीया स्विफ्टले लस एन्जलसमा आयोजित समारोहमा आफ्नो नयाँ गीत ‘प्यासेन्ट जिरो’को म्युजिक भिडियो पनि सार्वजनिक गरिन् । अभिनेता कोलिन फेरेल र डकोटा जोन्सनले अभिनय गरेको उक्त भिडियो समारोहकै क्रममा पहिलोपटक सार्वजनिक गरिएको हो । समारोहलाई ¥यापर स्नुप डगले सञ्चालन गरेका थिए ।
डार्क गोथिक थ्रिलर शैलीमा बनेको ‘प्यासेन्ट जिरो’ एनएफएल खेलाडी ट्राभिस केल्सीसँग विवाह गरेपछि स्विफ्टले सार्वजनिक गरेको पहिलो म्युजिक भिडियो हो ।
‘प्यासेन्ट जिरो’ गत साता सार्वजनिक भएको ‘द लाइफ अफ अ शोगर्ल : द एन्कोर’मा समावेश चार नयाँ गीतमध्ये एक हो ।
यस वर्षको भीएमएमा महिला कलाकारहरूको प्रभाव बलियो देखियो । पप संगीतकी ‘क्विन अफ पप’ भनेर चिनिने मडोना १३ मनोनयनसहित समारोहमा सहभागी भएकी थिइन् ।
मडोनाले ‘आर्टिस्ट अफ द इयर’ र ‘बेस्ट डान्स’ जितिन् भने गायिका सब्रिना कार्पेन्टरसँगको गीत ‘ब्रिङ योर लभ’का लागि ‘बेस्ट कोलाबोरेसन’ अवार्ड हात पारिन् । ‘ब्रिङ योर लभ’ मडोनाको सन् २०२६ को एल्बम ‘कन्फेसन्स टू’को मुख्य सिंगल हो ।
मडोनाको टोलीले ‘कन्फेसन्स टू’ फिल्मका लागि ‘बेस्ट सिनेमाटोग्राफी’ र ‘बेस्ट कोरियोग्राफी’ पनि जित्यो । ‘आर्टिस्ट अफ द इयर’ अवार्ड ग्रहण गर्दै ६८ वर्षीया मडोनाले आफ्नो लामो सांगीतिक यात्रालाई स्मरण गरिन् ।
‘मैले ४३ वर्षअघि पहिलो भीएमएमा प्रस्तुति दिँदा तपाईंहरूमध्ये धेरैजना सम्भवतः जन्मिनुभएको पनि थिएन,’ उनले भनिन् ।
मडोनाले पहिलो भीएमएमा प्रस्तुति दिने क्रममा आफू लडेको र शरीरको पछाडिको भाग देखिएको घटना पनि सम्झिइन् । उक्त घटनाले त्यतिबेला आफ्नो सुरुवाती करिअर नै समाप्त हुने खतरा उत्पन्न गरेको उनले बताइन् ।
पछिल्लो समयको आफ्नो सांगीतिक यात्राबारे उनले भनिन्, ‘मैले पछिल्लो डेढ वर्ष आफूलाई खोज्न, आफूमाथि विश्वास गर्न र आफूले साँच्चिकै बनाउन चाहेको संगीत बनाउन बिताएँ ।’
सन् २००३ मा गायिका ब्रिट्नी स्पियर्ससँग मञ्चमा गरेको चर्चित चुम्बनपछि यो मडोनाको पहिलो भीएमए प्रस्तुति थियो । उनको प्रस्तुतिमा सब्रिना कार्पेन्टरसँगको युगल प्रस्तुति र बेलायती गायिका चार्ली एक्ससीएक्सको उपस्थिति पनि समावेश थियो ।
‘बेस्ट कोलाबोरेसन’ अवार्ड ग्रहण गर्ने क्रममा मडोनाले कार्पेन्टरसँग सहकार्य सुरु गर्दाको रोचक प्रसंग पनि सुनाइन् । उनले कार्पेन्टरको टोलीबाट जवाफ पाउन पाँच दिन लागेको बताइन् ।
“पाँच दिन बितिसक्दा पनि सब्रिनासँग मेरो सम्पर्क हुन सकेन र उनले मसँग गीत गर्न चाहन्छिन् कि चाहन्नन् भन्ने जवाफ पनि आएन। पाँच दिनपछि मैले उनलाई सीधै सन्देश पठाएँ,” मडोनाले भनिन् ।
उनका अनुसार त्यसपछि कार्पेन्टरले जवाफ दिइन् र केही सातामै दुवै जना स्टुडियोमा सँगै पुगे ।
मडोनाको कुरा सुनेपछि केही असहज देखिएकी कार्पेन्टरले आफ्नो टोलीले सन्देशको जवाफ दिने स्पष्ट पारिन् । तर आफूले अझ छिटो जवाफ दिने भएकाले सीधै आफूसँग सम्पर्क गर्नु राम्रो हुने उनले बताइन् ।
समारोह सुरु हुनुअघि आयोजित ब्लु कार्पेटमा टेलर स्विफ्ट, चार्ली एक्ससीएक्स र के–पप समूह ब्ल्याकपिंककी लिसासहितका सेलिब्रिटी सहभागी भए ।
लिसाले ‘ड्रिम’ गीतका लागि ‘बेस्ट पप’ अवार्ड जित्दै उक्त विधामा विजयी हुने पहिलो एसियाली एकल कलाकारको इतिहास रचिन् । ‘ड्रिम’को म्युजिक भिडियोमा जापानी अभिनेता केन्टारो साकागुचीले अभिनय गरेका छन् ।
थाई र्यापर तथा गायिका लिसाले टेलर स्विफ्ट, एरियाना ग्रान्डे र ओलिभिया रोड्रिगोसहित पप संगीतका चर्चित कलाकारलाई पछि पार्दै उक्त अवार्ड जितेकी हुन् ।
वास्तविक नाम लालिसा मनोबा रहेकी २९ वर्षीया लिसा अवार्ड ग्रहण गर्दा भावुक देखिइन् । ‘लिलिज’ भनेर चिनिने आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै उनले भनिन्, ‘तपाईंहरूबिना म यहाँ हुने थिइनँ ।’
समारोहमा बेलायती गायिका रे र ‘बेस्ट न्यू आर्टिस्ट’ विजेता सिएना स्पाइरोले पनि प्रस्तुति दिए । कार्यक्रममा दिवंगत डली पार्टन र जर्ज माइकलप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
अर्की बेलायती कलाकार पिंकप्यान्थरेसले स्विडिस गायिका जारा लार्सनसँग ‘स्टेटसाइड’का लागि ‘बेस्ट आर्ट डाइरेक्सन’ जितिन् ।
दक्षिण कोरियाली समूह बीटीएसले ‘बेस्ट ग्रुप’ र ‘स्विम’का लागि ‘सङ अफ द इयर’ जित्यो । ओलिभिया रोड्रिगोको ‘द क्योर’ले ‘बेस्ट अल्टरनेटिभ’ अवार्ड जित्दा अमेरिकी रक ब्यान्ड निर्वाणालाई ‘भिडियो भ्यानगार्ड अवार्ड’बाट सम्मान गरिएको थियो ।













