काठमाडौं । प्रदर्शनमा आएका फिल्महरू प्रतिलिपि अधिकारको उल्लंघन (पाइरेसी)को मारमा परेका छन् । रिलिजको दुई दिनमै निखिल उप्रेतीको एक्सनप्रधान फिल्म ‘आचार्य’का दृश्य सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् ।
यो मात्र होइन, प्रदर्शनरत अर्को फिल्म ‘बाः एक योद्वा’का महत्वपूर्ण दृश्यलाई पनि टिकटक र रिल्समा हालिएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले १० देखि २० मिनेटसम्मका क्लिपलाई अपलोड गरेको भेटिएको छ । दर्शकले यसरी महत्वपूर्ण दृश्य खिचेर अपलोड गरिदिँदा यसले व्यवसायमा असर गर्ने भन्दै निर्माताले चिन्ता व्यक्त गरेका छन् ।
निर्माता, अभिनेता र वितरकले सामाजिक सञ्जालबाट यस्तो कार्य नगर्न सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गरिरहेका छन् ।
‘आचार्य’का निर्देशक, निर्माता तथा अभिनेता उप्रेतीले फिल्म खिचेर सामाजिक सञ्जालमा हालिदिने कार्य निर्माताको सपनामाथिको खेलवाड रहेको बताएका छन् । मनोरञ्जन र भ्यूज बढाउनको लागि फुटेज टिकटकमा हाल्ने कार्य रोक्न उनको आग्रह छ ।
निखिलले फेसबुकमा भिडियो सन्देश जारी गर्दै भनेका छन्- ‘यति दुःख गरेर लगानी गरेको निर्माताको सपनामाथिको खेलवाड हो । सानो इन्टरटेनमेन्ट र आफ्नो भ्यूज बढाउनको लागि चलचित्रको १०, १५, २० मिनेटसम्मको फुटेजहरू टिकटकमा राखिन्छ । सोसल नेटवर्कमा राखिन्छ । कति दुःख लाग्दो घटना । यसले गर्दा प्रोड्युसरको लगानीमा कति धक्का दिन्छ ? तर, हामी केही पनि नसोचिकन हामी फुटेज राखिदिन्छौं । यो त साँच्चिकै महसुस हुनुपर्ने कुरा हो । मलाई मात्र होइन, कुनै पनि फिल्मको यस्तो नगरियोेस् ।’
उनले नेपाली फिल्म देशभित्र बलियो बन्न जरुरी रहेको बताउँदै भनेका छन्, ‘हामी हाम्रो देशभित्र धेरै बलियो हुन जरुरी छ । सहकार्य गरौं । निर्माताको लगानी र व्यापारमा खेलवाड नगरिदिनूस । सबै मिलेर यो पाइरेसीको विरोध गरौं ।’
प्रदर्शनरत फिल्म ‘बाः एक योद्वा’का अभिनेता दिब्यदेव पन्तले फुटेज खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने कार्य रोक्न आग्रह गरेका छन् । दर्शकको माया र प्रतिक्रियाले आफूहरू खुसी भएपनि फिल्मलाई हलको अँध्यारोमै हेर्ने दर्शकको अधिकारलाई सम्मान गर्न दिब्यदेवको आग्रह छ ।
उनी लेख्छन– चलचित्रमा मन परेको दृश्य साथीहरूसँग बाँड्न मन लाग्नु पनि स्वाभाविक होला तर त्यसले कहिलेकाहीँ फिल्मको महत्वपूर्ण मोड, पात्रको भावना वा अर्को दर्शकले हलमा पहिलोपटक अनुभव गर्नुपर्ने क्षण नै खोलिदिन्छ । एउटा फिल्म पर्दामा देखिनुअघि त्यसको पछाडि सयौँ मानिसका महिनौँको मेहनत, सपना र आशा जोडिएका हुन्छन् । मन परे खुलेर कुरा गरिदिनुस । समीक्षा गरिदिनुस् । साथीभाइ र परिवारलाई हेर्न पठाइदिनुस् ।हामीलाई गाली गर्न मन लागे त्यो पनि गर्नुस् तर कृपया फिल्म नै खिचेर बाहिर नराखिदिनुस् । चाहे त्यो हाम्रो फिल्मको होस् या निखिल दाइको फिल्मको या अरु कुनै पनि फिल्मको । अझै फिल्म हेरिनसकेका दर्शकलाई पनि तपाईंले जस्तै त्यो हाँसो, त्यो आँसु, त्यो स्तब्धता र त्यो कथा पहिलोपटक हलको अँध्यारोमै अनुभव गर्ने मौका छोडिदिनुस् ।’
फिल्मको यस्तो खाले पाइरेसीले ओभरसिज मार्केट पनि बिगारेको भन्दै अमेरिका वितरक सुरेशदर्पण पोखरेलले चिन्ता व्यक्त गरेका छन् । यसका लागि बलियो प्रणाली बनाउनुपर्ने लगायतका सुझाव उनले दिएका छन् ।
पाइरेसीको यो समस्या नेपाली फिल्मका लागि नौलो होइन । दशकदेखि यो समस्या भएपनि यसको रोकथामको उपाय लागू हुन सकेको छैन । चलचित्र विकास बोर्डले थुप्रै पटक हलभित्र फिल्म नखिच्न आग्रहसहितको विज्ञप्ति पटक–पटक सार्वजनिक गर्दै आएको थियो ।
बोर्डले प्रदर्शक संस्था चलचित्र संघलाई निर्देशनसहितको पत्र पनि विगतमा काटेको हो । तर, यसको कार्यान्वयन हुन सकेको छैन । बोर्डमा रहेको चलचित्र हल अनुगमन समिति पछिल्लो समय निष्क्रिय देखिन्छ । चलचित्र संघले पनि यसतर्फ बेवास्ता गरिरहेको देखिन्छ ।













