नेपाली कांग्रेस तनहुँको जिल्ला सभापतिमा जितप्रकाश आले विजयी भएका छन् । आइतबार राति सकिएको मतगणनामा वैकुण्ठ न्यौपानेलाई भारी मतान्तरले पराजित गर्दै जितप्रकाश सभापति बनेका हुन् । आलेले ९५१ र न्यौपानेले ७८३ मत प्राप्त गरेका छन् । आले र न्यौपानेले प्राप्त गरेको मतान्तर १६८ छ । शनिबार भएको मतदानमा एक हजार सात ८१ मत खसेको थियो ।

व्यास नगरपालिकाका मेयर समेत रहेका बैकुण्ठ जिल्ला सभापतिमा दोहोरिन चाहान्थे । बैकुण्ठको कार्यकालमा कार्यवाहक सभापति भएर तनहुँ कांग्रेसको बागडोर सम्हालेका आलेले कांग्रेस कार्यकर्ताकाे मन र मत जित्दै पार्टीलको नेतृत्व हाँक्नलाई जिल्ला सभापति बन्न सफल भएका छन् ।

आले र न्यौपाने बरिष्ठ नेता रामचन्द्र पौडेलका ‘हार्डलाइनर नेता’ हुन् । कांग्रेसको आसन्न १४औँ महाधिवेशनको संघारमा दुई नेता विभाजित भएर फरक प्यानलमा लागे । आले पौडेल समुह छाडेर संस्थापन समुहबाट जिल्ला सभापतिको उम्मेद्वार बनेका हुन् । केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई र आमन्त्रित केन्द्रीय सदस्य धुर्व वाग्लेकाे समर्थनमा आलेले प्यानल बनाएर बैकुण्ठलाई पराजयको स्वाद चखाए ।

पौडेल समुहका उम्मेद्वार न्यौपानेले केन्द्रमा कृष्णप्रसाद सिटौला गुटका केन्द्रीय सदस्य प्रदिप पौडेलको समर्थन जुटाएका थिए ।

जिल्ला उपसभापतिमा जितप्रकाश प्यानलका राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी भए । दुईले क्रमशः ९०७ र ८७६ मत पाएका छन् । उपसभापतिका उम्मेद्वार किसान गुरुङले ८६६ र उदयराज गौलीले ७२१ मत प्राप्त गरे ।

सचिवमा पपुलर मत ल्याउदै लक्ष्मीभक्त खनाल विजयी भए । उनले एक हजार २० मत पाएका छन् । अर्का विजयी सचिव सहदेव अधिकारीले ८१२ मत पाएका छन् । सचिवका उम्मेद्वार केशबहादुर सुनारले ७२७ र मोहन गिरीले ८०७ मत पाएका छन् ।

सहसचिवमा भने बैकुण्ठ प्यानलका मिलन आले र जितप्रकाश प्यानलका परमेश्वर भट्टराई निर्वाचित भएका छन् । आलेले ९२० र भट्टराईले ८६९ मत पाए । सहसचिवका उम्मेद्वार धिरेश खनाल ७७४ र हुत्तमणि अधिकारीले ७७६ मत पाएका छन् ।