राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको मितिमा सञ्चालनमा नआउने लगभग निश्चित देखिएको छ । विमानस्थल सञ्चालन गर्न आवश्यक पूर्वधारहरु तयार नहुँदा विमानस्थल सञ्चालन अन्योल बनेको हो ।

विमानस्थल बनाउन चीन सरकारको २२ अर्ब रुपैयाँ सहुलियत ऋणमा २०१७ नोभेम्बर १ मा निर्माण थालिएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले २०२१ जुलाई १०मा सक्नुपर्ने थियो । तर, कोरोना महामारीको कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले निर्माण समय १ वर्ष थप ग¥यो । यसरी थप गरिएको ५ महिना पनि सकियो । तर, बन्नुपर्ने पूर्वधारहरु बन्ने÷नबन्ने अन्योल छ । उडान भर्न चाहिने पूर्वधारहरु कसले बनाउनेमै अन्योल सिर्जना भएको हो ।

‘आर्मी ब्यारेकमै अन्योल’
अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा नेपाली सेनाले गर्छ । तर आउँदो वैशाखदेखि अन्तर्राष्ट्रिय उडान गर्ने भनिएको पोखरा विमानस्थलमा अहिलेसम्म आर्मी ब्यारेक निर्माण भएको छैन । विमानस्थलमा ब्यारेक कसले बनाउने भन्नेमै अन्योल छ । विमान उडान हुने मिति नै तोकिँदासमेत ब्यारेक कसले बनाउने टुंगो नलागेको विमानस्थलका इन्जिनियर कृष्ण पौडेलले बताए ।
‘ब्यारेक कसले बनाउने नै निक्र्याेल भएको छैन । सुरक्षाका लागि ब्यारेक आवश्यक पर्छ । नेपाल सरकारले कसले बनाउने भनेर निर्णय गर्नुपर्‍यो । यसपछि हामीले बनाउने भए हामीहरुले बनाउँछौं । आर्मीले बनाउने भए आर्मीलाई निर्देशन दिनुपर्‍यो,’ उनले भने ।

रिठेपानी डाँडा कटान रोकिनु

विमानस्थलको पूर्वपट्टि रहेको रिठेपानी डाँडा कटान सम्बन्धी कार्य ठोस रुपमा अगाडि बढेको छैन । डाँडा कटान रोकिएको विमानस्थल आयोजना प्रमुख विनश मुनकर्मी बताउँछन् । ‘सरकारी तथा निजी व्यक्तिको जग्गा यो डाँडामा पर्छ । सरकारी नाममा रहेको डाँडा कटान गर्न र त्यहाँ रहेको रुखहरु फडानी गर्न रुखहरुको लगत तयार भई रुखमा टाँचा लगाउने काम पूरा भएको छ,’ उनले भने । तर, वन क्षेत्रको कटान कार्य द्रूत गतिमा गर्न मन्त्रिपरिषद्बाट आवश्यक निर्णय हुनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वन तथा वातावरण मन्त्रालयमा पत्राचार भएपनि काम नभएको उनले बताए ।

आयल निगम डिपोको अन्योल


विमान सञ्चालन गर्न आवश्यक पर्ने आयल निगम डिपोको निर्माण नेपाल आयल निगमबाट ठोस रुपमा कार्य अगाडि नबढेको आयोजनाका प्रमुख मुनकर्मीले बताए । नेपाल आयल निगमसँग निरन्तर बैठक बसी छलफल पत्राचार तथा फोन सम्पर्क निरन्तर गर्दै आएपनि ठोस रुपमा नभएको मुनकर्मीले सुनाए । निगमले भने इन्धन डिपोको पूर्वाधारको डिजाइन ड्रइङ सम्पन्न भई टेन्डर प्रक्रियामा रहेको उनले बताए । मुनकर्मीका अनुसार निगमबाट द्रुत गतिमा कार्य अगाडि बढाउन मन्त्रालय स्तरबाट निर्देशन हुनुपर्छ । उनले भने, ‘तर कहिले हुने टुंगो छैन ।’

संरचना भत्किने डर

विमानस्थल क्षेत्रभन्दा बाहिर उत्तरतर्फ करिब ४ किलोमिटरदेखि बग्ने पानीका कारण विमानस्थल जोखिममा पर्दै आएको छ । वर्षातको समयमा नजिकैको बस्ती डुबानमा पर्नेदेखि पहिरो जाने भइरहेको छ । यसले विमानस्थलको संरचना जोखिममा छ । वर्षाको समयमा पानीका कारणले पूर्वतर्फको भाग भत्कने क्रम बढ्दै गएपछि समस्या भएको मुनकर्मी बताउँछन् । ‘मणिपाल, सेती, नदी काहुँखोलादेखि ५ सय हेक्टर जग्गाको वर्षातको समयमा आउने पानीले विमानस्थल क्षेत्रका संरचाना भत्कने डर छ । ड्रप संरचनासमेत भत्किएकाले पानीको निकास गर्न समस्या परेको र जसको कारणले पहिरो जाने क्रम बढ्दै गएको छ,’ उनले भने ।

आयोजनाले भौतिक विकास पूर्वाधार मन्त्रालय, जलस्रोत तथा सिँचाइ कार्यालमा पानीको व्यवस्थापन सम्बन्धमा पत्रचार पठाए पनि बाँकी काम नभएको मुनकर्मीले बताए । बनाउनुपर्ने डाइभर्सनका लागि ३४ करोड रुपैयाँ लाग्ने उनी बताउँछन् । ‘तर कार्यालयले बजेटको अभावमा रहेको जनाएको छ । यसका लागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट व्यवस्थाका लागि भन्नुभएको छ,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सिँचाइ डिभिजन कार्यालयलाई नहर व्यवस्थापन गर्न अनुरोधसमेत गरेको छ ।’

वर्षाकै कारण आउने पानी निकासका लागि विमानस्थलको पूर्वतर्फ विजयपुर खोला नजिकैको आउटलेट संरचना निर्माण भइरहेको उनले बताए । भन्छन्, ‘पानी व्यवस्थित गर्न छुटै एउटा पानी जाने नहर निर्माण गर्न ठेक्का प्रक्रिया सम्पन्न भएको छ । समयमै काम सम्पन्न गन संघिय सरकारबाट प्रदेश सरकारलाई समस्या समाधान गर्न निर्देशन दिनुपर्छ ।’ बजेट व्यवस्था गरी सिँचाइ डिभिजन कार्यालय पोखराबाट यथाशीघ्र कार्य अगाडि पर्ने उनले सुनाए । भन्छन्, ‘यो काम वर्षात् सिजन अगावै सक्नुपर्ने हुन्छ नत्र फेरि खोलाले संरचना भत्काउँछ ।’

ल्यान्डफिल साइट अन्योल
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम ८८ प्रतिशत काम सकिएको मुनकर्मी बताउँछन् । तर, २ किलोमिटर दुरीमा रहेको ल्यान्डफिल साइट हालसम्म पनि स्थानान्तरण गर्ने प्रक्रिया टुंगिएको छैन । नजिकै रहेको ल्यान्डफिलका कारण पंक्षी खतराको सम्भावना देखिएका छ । ल्यान्डफिल साइट नजिक हुँदा चराचुरुंगी आउने र विमानसँग ठोक्किने डर भएको विज्ञ बताउँछन् । यसरी चराचुरुङको बासोबास गरेको स्थान सार्न समय लाग्य विज्ञहरु उनीहरु बताउँछन् । ‘चराहरुले फूल पर्नेदेखि बच्चा हुर्काउन काम गर्ने भएर ल्यान्डफिल साइट छिटो सार्नुपर्ने हुन्छ । यसरी सार्न टाइम लाग्छ, एकैचोटि गर्न सकिँदैन,’ उनले भने, ‘चराचुरुंगीहरुलाई अन्यत्र गएर घुलमिल गरेर स्थानन्तरण गर्न समय लाग्छ ।’ चरा विज्ञका अनुसार चराचुरुंगीलाई मार्न पाइन्न । ‘छिटो ल्यान्डफिलसाइट सारेर चरा स्थानान्तरण गर्नुप¥यो । चराएको वातावरणमा छुटै महत्व छ,’ उनले भने । विमानस्थल निर्माण आयोजनाले महानगरपालिकालाई पत्राचार गरे पनि काम हुन नसकेको मुनकर्मी बताउँछन् ।

पोखरा महानगरपालिकाको ५२ औं कार्यपालिका बैठकले पोखरा २० मा रहेको पस्मराङ ल्यान्डफिल साइट सार्ने निर्णय गरेपनि स्थानीयले विरोध गरेका छन् । पोखरा महानगरपालिका १६ का वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा ६ सदस्यीय समिति १६ र २० मा पर्ने पस्मराङ छनोट गरेपनि ल्यान्डफिल साइट स्थानान्तरण हुन सकेको छैन ।

यसभन्दा अघि अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ देखि सञ्चालनको तयारी थालिए पनि यस्तै आन्तरिक समस्याका कारण सफल हुन नसक्ने अवस्थामा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले शुक्रबार विमानस्थलको निरीक्षण गरेका छन् । मन्त्री आलेले रिठेपानी डाँडा कटान र वर्षाको समयमा विमानस्थलमा पानीको व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएका छन् । ‘रिठेपानी डाँडा कटानको विषयमा मन्त्रिपरिषद्को निर्णय आवश्यक छैन । काम अगाडि बढाउँदा हुन्छ,’ उनले भने, ‘काम नगरे ठेकेदार कम्पनीलाई रकम भुक्तानीको रोक्नुुस् ।’ गरेको काम गुणस्तरको गर्न मन्त्री आलेले बताए ।

समाधान न्युजले तयार पारेको यो सामाग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समस्याको जालो, आर्मी ब्यारेक कसले बनाउने ?