अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आफ्ना चीनिया समकक्षीसँग खुलस्त कुराकानी भएको बताउनु भएको छ । दुई दिने बैठकका लागि चीन पुग्नु भएका ब्लिङ्केनको चीनिया अधिकारीहरुसँगको बैठकको शुभारम्भ सुखद भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

चीनिया अधिकारीहरुसँगको कुराकानीमा ब्लिङ्केनले कुटनीति र खुला संचारको आवश्यकतामा जोड दिनु भएको छ । विगत पाँच वर्षमा अमेरिकी उच्च कुटनीतिज्ञको यो पहिलो भ्रमण हो ।

गत फेब्रुअरीमै तय भएको ब्लिङ्केनको चीन भ्रमण चीनिया जासुसी बेलुन अमेरिकामा देखिएको भन्दै रद्द गरिएको थियो । अमेरिकी अधिकारीहरुले बेइजिङ वार्ताको मुख्य लक्ष्य दुई मुलुक बीचको तनावपूर्ण सम्बन्धलाई स्थिर राख्नु रहेको बताएका छन् ।

चीनिया विदेशमन्त्री कीन ग्याङले चीनले अमेरिकासँग स्थिर र रचनात्मक सम्बन्ध स्थापित गर्न चाहेको बताउनु भयो । साथै चीनिया विदेशमन्त्रीले वासिङ्टन भ्रमणका लागि सहमति जनाएको पनि अमेरिकी अधिकारीहरुले जनाएका छन् ।