पोखरा । पोखराको फेवातालमा सम्पन्न ड्रागन बोट रेस प्रतिस्पर्धामा चीनको सिचुवान ड्रागन बोट टिमले उपाधि जितेको छ । २ सय र ५ सय मिटर दुवै तर्फको उपाधि सिचुवान टिमले हात पारेको छ ।

उपाधि जितेको सिचुवान टिमले २ सय र ५ सय मिटर दुवै विधामा प्रथम हुँदै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ जितेको छ । प्रतियोगितामा सहभागी ८ वटै टिमलाई एक एक लाख रुपैयाँ पनि प्रदान गरिएको थियो ।

प्रतियोगितामा नेपाली टिमले पहिलो सहभागीतामै दोस्रो उपाधि जितेको छ । ४ नेपाली टिम सहभागी प्रतिस्पर्धामा नेपालको नारा ड्रागन बोट टिम २ सय र ५ सय मिटिर दुवै विधामा दोस्रो हुँदै ३ लाख ५० हजार नेपाली रुपैयाँका दरले ७ लाख र सहभागी टिमलाई दिइने १ लाख सहित ८ लाख हात पारेको छ ।

दक्षिण एशियामै पहिलो पटक नेपालको पोखरामा भएको चीनको २ हजार वर्ष पुरानो पर्व अन्तर्गतका ड्रागन बोट रेसमा चीनको युनान ड्रागन बोट टिमले दुवै विधामा तेस्रो हुँदै २ लाखका दरले ४ लाख नेपाली रुपैयाँ जितेको छ । प्रतियोगितामा नेपाल टिम एनआरसीए चौथो भएको थियो । प्रतियोगितामा नेपाल र चीनका ४र४ वटा गरी ८ टिम सहभागी भएका थिए । विजयी खेलाडीहरुलाई राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन् छोङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङले पुरस्कार हस्तान्तरण गरेको थिए ।

चीनबाट ड्रागन बोट रेसकालागि ल्याइएका चिनियाँ डुंगा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । चिनियाँ सस्कृतिको आधारमा बनेका नेपाली परम्परागत भन्दा फरक खाले डुंगा चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको हो । ड्रागन मुखाकृति भएको डुंगा आकर्षक रहेका छन् । चिनियाँहरुको महत्वपूर्ण चार पर्व मध्येको एक ड्रागन बोट रेस यस वर्ष देखि पोखरामा मनाउन सुरु गरिएको हो ।

महोत्सवमा र प्रतिस्पर्धामा सहभागी हुन चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको ए ३१९ जहाजबाट बुधबार चार्टड फ्लाईटमा खेलाडी, दुई वटा प्रान्तका नगरप्रमुख, उपप्रमुख, कलाकार लगायत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको पहिलो विमानस्थल यही चार्टड विमान हो ।