पोखरा । गण्डकी प्रदेश सरकार प्रदेश खेलकूद परिषद्, गण्डकीद्धारा आयोजित एवं नेपाल तेक्वान्दो संघ गण्डकीको व्यवस्थापनमा तिन दिने गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण आज पोखरा रंगशालामा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

तालिमको समापनमा प्रमुख अतिथि प्रदेश खेलकूद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलकूदका प्रतियोगितालाई वृद्धि गरी अति शुष्म तवरबाट हरेक क्षेत्रमा फैलाउने उद्धेश्य रहेको बताउनुभयो । प्रदेश खेलकूद परिषद्ले जुनियर प्रतियोगिता संचालनको लागि मात्र ७५ लाख बराबारको वजेट विनियोजन गरेको हुनाले यो क्षेत्रमा खेलकूदका गतिविधिहरुलाई अझै तिव्र प्रतिस्पर्धी बनाएर लैजाने उहाँले जानकारी दिनुभयो ।

नेपाल तेक्वान्दो संघ गण्डकीका अध्यक्ष जगन बहादुर गुरुङले प्रशिक्षणमा सिकाइएको ज्ञानलाई व्यवहारिक रुपमा उतार्न सकेमा मात्र अपेक्षाकृत सफलता प्राप्त हुने बताउनुभयो ।

कोरियन प्रशिक्षक योङदल कोनको प्रशिक्षणमा भएको यस तालिममा ७ वटा जिल्लाका ४३ जना प्रशिक्षकहरुले सहभागिता जनाएका थिए ।

सो तालिमा सहभागी प्रशिक्षकहरुलाई सदस्य सचिव शर्मा, कार्यकारी सदस्य ऋषिराम गौतम नेपाल तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरिश्वर पोख्रेल, गण्डकीका अध्यक्ष गुरुङ, कोषाध्यक्ष माइकल कर्मचार्य, महासचिव रमेश पौडेल, क्षेत्रीय खेलकूद बिकासका निर्देशक कृष्ण तिम्सिना लगायतले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।