पोखरा । विषालु च्याउ खाँदा डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना बिरामी भएका छन् । बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो ।

च्याउ खाँदा १८ वर्षीय अनमोल डुरा, ६० वर्षीया गङ्गा डुरा, १४ वर्षीया एलिजा डुरा, ३९ वर्षीय बासु बोगटी, १० वर्षीया मिना बोगटी, १२ वर्षीय सुनिल बोगटी, ४३ वर्षीया सकुन्तला खड्का बिरामी भएका छन् । त्यस्तै, १२ वर्षीया निशा बोगटी, ३९ वर्षीय बर्मा देवल, ५० वर्षीय बबर देवल र १९ वर्षीय सानु बोगटी पनि बिरामी परेका हुन् ।

स्वास्थ्य मन्त्रालय र विज्ञले जङ्गलमा पाइने च्याउ नखान आग्रह गरेका छन् । जङ्गली च्याउ खाँदा बिरामी पर्ने र ज्यानैसमेत जान सक्ने जोखिम हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पकाउँदा पनि च्याउमा हुने विष कम नहुने भएकाले जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।