पोखरा । पोखरामा पछिल्लो समय आँखा पाक्ने रोग (एडिनो भाइरल कन्जङटिवाइटिस) फैलिरहेको छ । यो रोग फैलिएसँगै यसका बिरामीहरु पनि दिनप्रतिदिन बढ्दो क्रममा छ ।

यसै विषयलाई लिएर हिमालय आखाँ अस्पतालले सोमबार जनचेतना मुलक कार्यक्रम एवं पत्रकार सम्मेलनको आयोजना गर्दै पोखरामा पछिल्लो समय यस रोगका बिरामीहरुको संख्या वृद्धि भएकोले सावधानी अप्नाउन सबैमा आग्रह गरेको छ ।

दैनिक ७ सय ५० बिरामी जाँच गर्दै आएको यस अस्पतालले आँखा पाक्ने समस्या आएपछी अहिले दैनिक १३ सय बिरामीहरको उपचार गरिरहेको अस्पतालकी मेडिकल डाइरेक्टर प्रा.डा.इलिया श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँले यो हप्ता मात्रै १५ सय बिरामी आँखा पाक्ने समस्या लिएर अस्पताल आएको बताउनुभएको छ । जसमा ९ सय बालबालिका मात्रै छन् । उहाँका अनुसार अन्य उमेर समुहलाई भन्दा बालबालिकामा आँखा पाक्ने समस्या बढी देखिएको बताउनुभयो । विशेषगरी बालबालिकामा आँखा पाक्ने समस्या बढीको हुनुको प्रमुख कारण बच्चाहरुले हात नधोइकन आँखामा छुने भएको उहाँले बताउनुभयो ।

त्यस्तै प्रा.डा.श्रेष्ठका अनुसार आँखा पाक्ने समस्याका बिरामी आइतबार मात्र ६ सय २९ जना आएको समेत जानकारी दिनुभयो। यो रोग त्यति जटिल नभएपनि यसको उपचार भने समयमा नै गर्नुपर्ने उहाँले बताउनुभयो ।

एडिनो भाइरल कन्जङटिवाइटिस भाइरसको संक्रमणपछि आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने जस्ता समस्या देखापर्ने हुदाँ यस्ता लक्षण देखिएमा समयमा नै उपचार गर्नुपर्ने समेत बताउनुभयो ।

दाङ, भरतपुर र जनकपुरमा आखाँ पाक्ने समस्याका कारण विद्यालय बन्द भएको अवस्थामा पोखरामा पनि अहिले बच्चामा आँखा पाक्ने समस्या बढी देखिएकाले एकहप्ता विद्यालय नै बन्द गर्नुपर्ने सुझाव उहाँको छ ।

प्रा.डा.श्रेष्ठले दिएको जानकारी अनुसार हिमालयन आँखा अस्पतालको क्षमता दैनिक ८ सय जनाको भएको तर हाल आँखा पाक्ने समस्या आएपछी बिरामी दैनिक १५ सय पुग्ने गरेको छ ।

आँखा पाक्ने समस्या भएमा हिमालय आँखा अस्पताल नै आउनु पर्छ भन्ने छैन जिल्ला जिल्लामा रहेका आँखा उपचार केन्द्र वा अस्पतालबाट पनि सेवा लिन सकिने उहाँले बताउनुभएको छ ।