४ पुस, काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार) बाट सुरु हुन लागेको छ ।
हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशनको आह्वान गरेकाले दिउँसो ४ बजेपछि संयुक्त बैठक बस्ने तयारी भएको छ ।
बैठकलाई शिर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
यो हिउँदे अधिवेशनमा प्रतिनिधि सभाको प्रमुख कार्यसूची नै सभामुख चयन रहेको छ ।
असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि पद खाली भएको छ । आजको पहिलो बैठक भने उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सञ्चालन गर्नेछन ।
आजको बैठकमा अध्यक्षले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका रहेको छ।
यस्तै, अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा संसदीय दलका नेताहरूले स्वागत मन्तव्य राख्ने कार्यतालिका रहेको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराई जनाएका छन्।









