काठमाडौं- प्रसिद्ध चार नारायणमध्ये एक महत्वपूर्ण नारायणका रुपमा रहेको मत्स्यनारायणको मेला आज देखी सुरु भएको छ । मलामसको समयमा अन्य धार्मिकस्थलमा पूजा गर्दा पूण्य मिल्दैन भनिए पनि काठमाण्डौको दक्षिण पश्चिमको मच्छेगाँउमा अवस्थित मत्स्यनारायण मन्दिरमा मलमासको समयमा एक महिनासम्म बिशेष मेला लाग्ने गर्दछ ।

प्रत्येक चार बर्षमा एक चोटी आउने अधिकमास अर्थात पुरुषोत्तम महिनामा लाग्ने यो मेलामा भगवान नारायणको दर्शन पूजापाठ गर्नाले सबै दुख कष्ट हरन हुने भएकोले मलमासको समयमा नारायणको भक्ति गर्नुपर्ने स्थानीयहरुको भनाई छ ।

मत्स्य पुराणमा उल्लेख भएअनुसार सत्ययुगका राजा सत्यब्रतले नदीमा सन्ध्या पाठ गर्ने क्रममा अन्जुलीमा सानो माछा आएर बसेको र सो माछालाई नदीमा बगाउन खोज्दा आफुलाई ठूलो माछाले खाईदिने भन्दै राजाकै शरणमा बस्ने इच्छा सुनाएपछि राजाले आफ्नो कमण्डलुमा माछा पालेको र पछि त्यो ठूलो भई कमण्डलुमा नअट्ने गरी शंख चक्र गद्या पद्यम सहितको आधा माछाको रुपमा बिष्णु भगवानले दर्शन दिएपछि मत्स्य नारायणको स्थापना गरि मलमासको समयमा पुजा गर्ने गरेको किम्वदन्ती रहेको छ ।

मलमासको बेलामा कुनै पनि शुभकार्य गर्न हुँदैन भन्ने मान्यता रहेका कारण यो महिनामा चोखो भई बस्ने र नारायण दर्शन एवम् पुजा गर्नुपर्ने परम्परा रहेको छ ।

के हो मलमास ?

हामी सबैलाई थाहा छ ३६५ दिनको या भनौँ १२ महिनाको १ वर्ष हुन्छ । सूर्यको गति अनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गति अनुसार गणना गरिने मासलाई चन्द्र मास भनिन्छ ।

सौर्य मासमा सामान्यतया २९ देखि ३२ दिन सम्मको महिना हुन्छ भने चन्द्र मासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्र मास हुन्छ। सामान्य रूपमा चन्द्र मास अनि गतेहरु सौर्य मास भनेर बुझ्न सकिन्छ ।

यसरी सौर्य मासको गणनामा ३६५ दिनको एक वर्ष हुन्छ भने चन्द्र मासको गणनामा ३५४ दिनको एक वर्ष हुन्छ । यसरी प्रत्येक साल चन्द्र मास सौर्य मास भन्दा ११ दिनले पछि हुँदै आउँछ अनि ३ वर्षमा ३३ दिन ले चन्द्र मास र सौर्य मासको फरक पार्दछ जसलाई अधिक मास या मलमासले मिलाप गरिन्छ ।

यो त सामान्य बुझाई भयो, अब ज्योतिष शास्त्रको परिभाषा तर्फ लागौँ । ज्योतिष शास्त्र अनुसार जुन चन्द्रमासभित्र सूर्य सङ्क्रान्ति पर्दैन त्यसलाई अधिक मास भनिन्छ । त्यस्तै कुनै चन्द्रमासभित्र दुई वटा सूर्य सङ्क्रान्ति परेमा त्यसलाई क्षय मास भनिन्छ ।

अधिक मास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षय मास घटिमा १९ वर्ष र बढीमा ४१ वर्षमा एक पटक आउने गर्दछ ।

यसरी सूर्य अनि चन्द्रका चाल अनि गतिका आधारमा वर्ष मिलान गर्न अधिक मास र क्षय मासको चलन ठाउँ अनुसार फरक फरक हुन सक्दछ तथापि अधिक मास भने अधिक ३३ दिनलाई हरेक ३ वर्षमा समायोजन गर्ने चलन हो ।

सौर्य मास जस्तो चन्द्र मास को मापन ठोस हुँदैन, तिथिमा आधारित हुने भएकाले यो चन्द्र मास गतिमा निश्चित हुँदैन । यही नियम अनुसार अधिक मास या महिना वृद्धि हुने गर्दछ, अधिक मास खासै यही महिना हुन्छ भन्ने हुँदैन । “सर्वेषु मासेष्वधिमासकः स्यात” भन्ने प्रमाणबाट अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्छ ।

लीप इयर भने निश्चित समयमा पर्दछ भने अधिक मासको भने समय यसै महिना भन्न सकिँदैन । अधिक मासलाई पुरुषोत्तम मास पनि भनिन्छ, यस मासको आधिपत्य भगवान् सूर्यले ग्रहण नगरेको तसर्थ भगवान् पुरुषोत्तम स्वयमले आधिपत्य स्वीकार गरेको किंवदन्ती छ ।

यस मासमा भगवान् नारायणको पूजा अर्चना गरिन्छ । अन्य पूजाहरू सामान्यतया चले पनि विवाह, व्रतबन्ध लगायतका शुभकार्यहरु भने पुरुषोत्तम मासमा गरिने गरिन्न ।

मलमासमा पतिपत्नी विवाहको प्रथम वर्ष हो भने साथ नबस्ने अनि पारिवारिक सम्बन्ध पिरोल्ने भनी मुर्हुतमार्तण्डीका र मुर्हुतचिन्तामणी लगायतका पुस्तकमा पाइएता पनि परम्परागत वैदिक परम्पराका प्राचीन ग्रन्थहरूमा भने यस्ता कुराहरू पाँइदैन् ।

अधिक मासमा गर्ने धार्मिक कृत्य व्रत, दान, पुण्य आदिका लागि भगवान् श्रीकृष्णले भन्नुभएको छ–यसको फलदाता,भोक्ता र अधिष्ठाता जम्मै म नै हुँ । यस महिनामा एकभक्त, नक्त वा उपवासका साथै भगवान् भास्करको पूजन तथा कास्यपात्रमा अन्न वस्त्र भरेर दान गर्नु फलदायी हुन्छ ।