काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रिजको आईपीओमा लगानीकर्ताको चलखेलको रहस्य क्रमशः खुल्दै गएको छ ।

नियमक निकायले सर्वसाधारण लगानीकर्तालाई झुक्याउने गरी कम्पनीका सञ्चलकको गतिविधिमाथि छानबिन गरिरहेको छ भने कसुर प्रमाणित भए जेल सजायसम्म हुने व्यवस्था छ ।

कम्पनीमाथि छानबिन हुँदै गर्दा हजारौं लगानीकर्ताको करोडौं रुपैयाँ भने अड्किने भएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ प्रक्रिया रोकेसँगै धितोपत्र बोर्डले लगानीकर्ताको रकम केही समय ‘ब्लक’ हुने जनाएको छ ।

आईपीओमा परेको नक्कली आवेदनमाथि छानबिन गरिरहेकाले सोको टुंगो नलाग्दासम्म सर्वसाधारणको रकम ‘फ्रिज’ भएर बस्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले कम्पनीको रेटिङ, सेयर प्रत्याभूतिकर्ताको भूमिका र नक्कली आवेदनलगायतका बारेमा अध्ययन गर्न लागिएको जानकारी दिए ।